जनकपुरधाम,प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार प्रदेश २ सरकारले जितिया पर्वको उपलक्ष्यमा महिला कर्मचारीहरुलाई विदा दिएको समयमा अख्तियारले छापा मारेको हो । मुख्यमन्त्री राउतले भने प्रदेश सरकारलाई नियोजित तवरले बदनाम गराउन खोजिएको बताउनुभएको छ ।

बर्दिवासबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा छापा मारेको थियो । प्रदेश २ को बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तरगत साइकल वितरणमा अनियमितता भएको भन्दै अख्तियारले कारबाही शुरु गरेको हो । टोलीले साइकल वितरणमा भएको खर्च विवरण सम्वन्धी फाइलहरु अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका उपसचिव मेघनाथ रिमालले बताउनुभयो । उहाँले साइकल खरिदमा अनियमितता भएको उजुरी आएको र सोहि अनुसार छानबिन शुरु गर्न लागेको बताउनुभयो । ‘अहिले फाइलहरु अध्ययन गर्ने प्रक्रियामा छन, उपसचिव रिमालले भन्नुभयो, ‘अध्ययनपछि मात्रै अनियमितता भए नभएको बारेमा भन्न सकिन्छ ।’ रिमालको नेतृत्वमा ६ जनाको टोली मुख्यमन्त्री कार्यालयमा दिउसो करिव दुई कार्यालयमा पुगेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो । प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो ।

प्रदेश सरकारको महत्वाकांक्षी योजना मध्ये एक बेटी पढाऊ बेटी वचाऊ कार्यक्रम अन्तरगत साइकल खरिदमा व्यापक अनियमितता भएको भनेर केही समययता विभिन्न संचारमाध्यमहरुमा समाचार सार्वजनिक हुदै आएका छन ।

यता, मुख्यमन्त्री राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताउनुभएको छ । यसबारे आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानी समेत गरेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here