वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगही र इनरुवा गाउँ जोड्ने पुल निर्माणको कार्य १ साताभित्र सुरु गर्न नगरप्रमुख विजयकुमार सरावगीले निर्देशन दिनुभएको छ । केही दिनअघि गिट्टी लोड गरिएको टिप्पर पार गर्ने क्रममा पञ्चायती व्यवस्थाको बेलामा निर्मित पुरानो पुल भाँसिएर दुर्घटना भएको थियो । बगही र इनरुवा जोड्ने पुल भाँसिएपछि सो क्षेत्र भएर आवतजावत गर्ने पैदल यात्रुका साथै मोटरसाइकल, रिक्सा तथा अन्य सवारी साधनलाई पनि ओहोरदोहोर गर्न समस्या भएको थियो । सोही समस्यालाई मध्यनजर गर्दै स्थानीयले नगरप्रमुख सरावगीलाई पुल निर्माणका लागि पहल चाल्न आग्रह गरेका थिए । वीरगन्ज महानगरवासीको अभिभावकको भूमिका रहेका सरावगीले आफ्नो अभिभावकत्व बहन गर्दै १ साताभित्र पुल निर्माणको काम थालनी गरी आवतजावत सुचारु गराउन पूर्वाधार महाशाखालाई निर्देशन दिनुभएको हो । सोमबार बिहान भाँसिएको पुलको स्थलगत निरीक्षण गर्दै नगरप्रमुख सरावगीले पुल निर्माणको काम छिटै शुरु हुने स्थानीयलाई विश्वास दिलाउनु भएको छ ।