वीरगन्ज,पर्सा जिल्लामा सकृय संक्रमितको संख्या ५ सयबाट तल झरेको छ । हाल सकृय संक्रमित ४ सय ३७ जना मात्र छन् । वीरगन्जमा एक सातायता कोरोनाले हुने मृत्यु दर पनि घट्दै गएको छ । जेठ १६ देखि जेठ २३ गतेसम्म गरि ८ दिनको अवधिमा वीरगन्जका विभिन्न अस्पतालमा कोरोना संक्रमणले ३६ जनााको मात्र मृत्यु भएको छ । संक्रमण दर उच्च भएका बेला बैशाख तोश्रो सातादेखि जेठ दोश्रो सातासम्म दैनिक औसतमा १० जनाको मृत्यु हुने गरेको थियो । तर जेष्ठ तेश्रो सातायता दैनिक औसत ५ जनाको मात्र मृत्यु भइरहेको र ती मध्ये पनि पर्सा जिल्लाका भन्दा अन्य जिल्लाका धेरै रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो । दोश्रो लहर शुरु भएपछि वीरगन्जमा चैत ३० देखि जेठ २३ सम्म वीरगन्जका विभिन्न अस्पतालमा गरि २९९ जनाको मृत्यु भएको छ । ती मध्ये पर्सा जिल्लाका १२९ जना मात्रै हुन् । अरु १६८ जना अन्य जिल्लाबाट उपचारका लागि वीरगन्जका अस्पतालमा आएकाहरु रहेको श्रीवास्तवले जानकारी दिनुभयो ।

चिकित्सकहरुले अस्पताल र आइशोलेसन सेन्टरहरुमा गम्भीर खालका बिरामीको संख्या घट्दै गए पनि संक्रमणको जोखिम भने नटरेको बताएका छन् । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहले अवस्था धेरै सुधारोन्मुख रहेपनि अहिले नै सबै कुरा सहज भइ सक्यो भनेर सोचियो भने घातक हुन सक्ने बताउनुभयो । उहाँले संक्रमणको चेन ब्रेक भएर संक्रमण दर र संक्रतिमको संख्याका साथै मृत्यु दर पनि घटेको तर जोखीम भने कायमै रहेकाले सावधानी अपनाउन आवश्यक नै रहेको बताउनुभयो ।

यसैबीच कोरोना भाईरसको संक्रमणका कारण सोमबार वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा जेठ १५ गते भर्ना भएका सर्लाहीको बरथवा ६ का ५५ वर्षिया महिलाको मृत्यु भएको छ । जेठ १६ गते उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटीभ आएको थियो । कडा खालको निमुनिया देखिएको उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

ठोरीमा संक्रमित शुन्य

पर्साको ठोरी गाउँपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै जाँदा सोमबारसम्म भने सक्रिय संक्रमित संख्या शुन्य भएको छ । पछिल्लो समय ठोरी गाउँपालिकाको पिसिआर, एन्टिजेन परीक्षणमा ठोरीबासी कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएपछि हाल पालिकामा सक्रिय संक्रमित नभएको ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो । कोरोनाको दोस्रो लहर सुरु भएपछि ठोरीमा नै गत वैशाख १९ गतेदेखि कोरोना संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको थियो । पालिकाले एन्टिजेन मार्फत ६६ जनाको कोभिड टेस्ट गरेकोमा १९ जनामा संक्रमण पुष्टि भएको गापा स्वास्थ्य संयोजक थिङ्ले बताउनुभयो । संक्रमित १ जनामध्ये सबैजना होम आइसोलेसनमा नै उपचार गरेर कोरोना संक्रमणबाट मुक्त भएको गापाले जनाएको छ । सक्रिय संक्रमित १ जना पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पताल बीरगंज पठाइएको र उनी पनि संक्रमणबाट मुक्त भैसकेको स्वास्थ्य संयोजक थिङ्ले बताउनुभयो । ठोरी गापाले कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई सम्बन्धित वडामा रहेको स्वास्थ्य संस्थाको सिफारिसमा एन्टिजेन विधिबाट कोभिड टेस्ट गर्ने गरेको छ भने संक्रमण पुष्टि भएका संक्रमितको सम्पर्कमा आएकाहरुलाई कन्ट्याक्ट ट्रेसिङमार्फत पनि कोभिड परीक्षण गर्ने गरेको छ । स्वासप्रश्वासमा समस्या भएका संक्रमितको उपचारका लागि पालिकाले घ्याङ्डाँडामा अक्सिजन सहितको २० शैय्याको कोरोना अस्पताल पनि सन्चालनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here