जीतपुर, १८ कार्तिक– पथलैया–वीरगंज व्यापारिक मार्ग अन्तरगत जीतपुर क्षेत्रको सडक निर्माणमा भएको ढिलासुस्ति विरुद्ध आन्दोलित जीतपुरका स्थानीय फेरि अर्को आन्दोलनको तयारीमा लागेका छन ।
यसअघि भएको सहमति अनुसार सडक विभागले निर्माण कार्य शुरु नगरेपछि उनीहरुले पुन आन्दोलन गर्ने चेतावनी दिएका हुन ।
सडक निर्माणमा भएको ढिलासुस्तिको विरोधमा गत शुक्रबार जीतपुर बजारमा स्थानीयले प्रर्दशनसहित चक्काजाम गरेर सडक अवरुद्ध पारेपछि सडक विभागले गत आइतबारदेखि निर्माण कार्य सुचारु गर्ने आश्वासन दिएको र ३ घण्टापछि सडक सुचारु भएको थियो ।
शुक्रबारको विरोध प्रर्दशन र चक्का जामपछि सडक विभागले आइतबारदेखि जीतपुर क्षेत्रमा सडक निर्माण कार्यलाई तिव्र पार्ने मौखिक सम्झौता गरेपछि अवरूद्ध सडक सुचारु बनेको थियो ।
तर सडक विभागले दिएको आश्वासनअनुसार अहिलेसम्म पनि काम शुरु नभएपछि स्थानीयले आन्दोलनको तयारी गरेका हुन । स्थानीय समाजसेवी तथा युवा नेता राजुराज गिरीले सहमति अनुसार सडक विभागले काम नथालेकाले आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले अबको आन्दोलन आश्वासन र संझौतामा नटुङ्गिने पनि बताउनुभयो ।