रतनपुर,बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुरी सव डिभिजन वन कार्यालयले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको लागि आयोजना गरेको दुईदिने क्षमता अभिवृद्धि तालिम तथा अन्तरक्रिया गोष्ठी मंगलवार सम्पन्न भएको छ ।
तालिममा रतनपुरका ११ वटा सामुदायिक वन उपभोक्ता समूहका ४४ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई लेखन क्षमता, आर्थिक कारोबारमा पारदर्शिता, विभिन्न समयमा आउने तथा प्रदान गरिने प्रेरणामूलक सन्देशको कार्यालय प्रतिको दर्ता र चलानी तथा कार्यसम्पादन व्यवस्थापनको लागि अपनाउनुपर्ने पद्दतिको बारेमा जानकारी दिइएको रतनपुर सब डिभिजन कार्यालयका रेञ्जर कपिलदेवप्रसाद यादवले जानकारी दिनुभयो ।
मधेस प्रदेशमा वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि तयार भएर कार्यान्वयनको चरणमा रहेकोले कार्याविधिअनुसार वन संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधानको सिप प्रदान गर्ने उद्देश्यले सामुदायिक वन समूहका पदाधिकारीहरुलाई तालिम दिइएको बताइएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ११ वडा कार्यालयको सभा हलमा भएको कार्यक्रममा हालखोरीया सब डिभिजन वन कार्यालयका प्रमुख विनयकुमार साहले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको मुख्य आयोजक डिभिजन वन कार्यालय बारा सिमरा रहेको थियो भने रतनपुरी सब डिभिजन वन कार्यालयले कार्यक्रमको सहजीकरण गरेको हो ।

















