नरेश गुप्ता

बरियारपुर,फेटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अंसारीले पालिकालाई जिल्लाको १ नम्बरमा पर्ने गरी नमुना गाउँपालिका बनाउने बताउनुभएको छ ।

फेटा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले शुक्रवार सो कुरा बताउनुभएको हो । सबैको साथ र सहयोग पाएको खण्डमा गाउँपालिकालाई बारा जिल्लाको नमुना पालिकाको रुपमा विकास गर्ने उहाँले बताउनुभयो । सोही अवसरमा गाउँपालिका अध्यक्ष गापाको नवनिर्मित भवनको उद्धाटन पनि गर्नुभएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष अन्सारीले जनताले आफ्नो काँधमा ठूलो जिम्मेवारी दिएको र आफूले इमान्दारिताका साथ जिम्मेवारी पूरा गर्ने बताउनुभयो । आफूलाई मेयर पदमा निर्वाचित गराउन सहयोग गर्ने मतदाता, पार्टीका कार्यकर्तालाई धन्यवाद दिनुभयो । उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्दै चुनावमा जनतासंग गरेको सबै वाचा पूरा गर्ने पनि बताउनुभयो ।

गाउँपालिका अध्यक्ष अन्सारीले गाउँपालिकाकी उपाध्यक्ष निलम साह, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउँनु भएको थियो ।

कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अन्सारी, विवेकशील साझा पार्टीका बारा जिल्ला अध्यक्ष डा. सुशील साह, नेपाली कांग्रेस, माओवादी, जसपा, लोसपा, नेकपा एमालेलगायत प्रमुख पार्टीका स्थानीय नेताहरुले निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा पालिकाकी उपप्रमुख साह, सात वटै वडाका निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु, सुरक्षाकर्मी, पालिकाका कर्मचारी लगायत स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply