निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माविको ५१औं बार्षिक महोत्सव तथा अभिभावक दिवस शुक्रवार एक कार्यक्रमबीच मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले अब विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । प्राविधिक र रोजगारमूलक शिक्षाको अभावमा धेरै विद्यार्थीहरु बेरोजगार बनेको र विदेश पलायन हुने अवस्था सृजना भएको बताउनुभयो ।

‘देशभित्रै रोजगारी सृजना गर्ने खालको शिक्षा आजको आवश्यकता हो, उहाँले भन्नुभयो, शिक्षाले रोजगारी दिनसकेन भने त्यसको उपादेयता छैन ।’कार्यक्रमा बोल्दै नगर प्रमुख पुरीले गणतन्त्र स्थापनापछि जनताको अपेक्षा अनुसार केही काम हुन नसकेको भएपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा देशमा धेरै काम भएको दाबी गर्नुभयो । उहाँले गणतन्त्र आएपछि केही पनि काम भएन भन्ने भाष्य निर्माण गर्ने कोसिस भइरहेको बताउदै यस्तो कुरा सही नभएको पनि बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी, मिना लामा, निजगढ नगरपालिकाकी उपपप्रमुख सोममाया थिङ्गलगायत विभिन्न राजनितिक दलका प्रमुखहरुले विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयले संचालन गरेको अतिरिक्त क्रियाकलाप र परीक्षामा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । सो कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले विद्यालयको प्रगति प्रतिवेदन र लेखापाल संन्तोष बन्जाराले गत आर्थिक वर्षको आयव्यायको विवरण पेस गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा समितिका सदस्य मधु तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक श्रीहरी न्यौपाने र प्रभु पराजुलीले गर्नुभएको थियो ।

Leave a Reply