वीरगन्ज,पर्सा प्रहरीले वीरगन्जबाट ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई बुधबार नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका– ३ पानीट्यांकीस्थित विकास कुमार बस्ने फल्याटबाट ८२ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । उक्त फल्याटमा भारत रक्सौलका विकाससँगै बस्ने भारत मोतिहारीका गुड्डु कुमार र साहिल गुप्तालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोधपुछ गर्ने क्रममा वीरगन्जको पुरानो बसपार्कमा रहेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर– ४ निवासी कमलोद्दिन अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ परेका चारजना माथि बैंक तथा वित्तीय संस्था विरुद्धको कसूर सम्बन्धी ऐन बमोजिम कारबाही अगाडि बढाइने छ । यसमा अन्य ब्यक्तिहरुको पनि संलग्नता रहेको आशंका गर्दै प्रहरी उपरीक्षक पाँण्डेले यसमा संलग्न अन्यमाथि पनि गहिरो अनुसन्धान गरिने बताउनुभयो । यो समुहले विगत लामो समयदेखि नेपाल र भारतमा हुण्डीको कारोबार गर्दै आएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here