अहिले देशभर बन्दाबन्दीको अवस्था छ । मुलुकका १४ भन्दा बढी जिल्लामा बन्दाबन्दी छ । बन्दाबन्दीको पीडा सामान्यतः जेलमा परेको अवस्थाजस्तै हो आम नागरिकका लागि । दैनिक ज्यालादारीमा बाँच्नुपर्ने नागरिकका लागि त यो अवस्था अभिशाप नै सावित हुन्छ । तर पनि बन्दाबन्दी अनिवार्यजस्तै भएको थियो । कोरोनाको दोस्रो लहर पैmलिंदै गएको देखिएपछि र त्यसका लागि सरकार गैरजिम्मेवार र आम नागरिक लापरबाह भएपछि बन्दको विकल्प थिएन । छिमेकी भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाख कोरोना संक्रमित थपिएका र करिब ५ हजारको मृत्यु भएको डरलाग्दो समाचारले नेपाली त्रसित हुनु स्वाभाविकै थियो ।

संक्रमण र मृत्युको पछिल्लो आँकडा हेर्दा नेपाल पनि भारतको नियतितर्फ धकेलिँदै गएको प्रस्ट देखिन्छ । आइतबारसम्म ३ लाखभन्दा बढी संक्रमित र ३ हजारभन्दा बढी मृत्युको आँकडा रहेको नेपालमा पछिल्लो लहर शुरु भएपछि एकैदिन ३५ जनाको मृत्यु भएको पाइएको छ । यस्तो अवस्था आउनुमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार सर्वाधिक दोषि देखिन्छ । प्रधानमन्त्री ओली स्वयंले कोभिडको पहिलो लहर चलिरहँदा दजनौं टेलिभिजन अन्तर्वार्तामा मास्क नलगाई बोलेका छन्, पचासौं भेला र सभाहरु गरेका छन् र दोस्रो लहरले छिमेकी भारतमा हजारौंको ज्यान लिइरहँदा ठूलो जनसमुदाय भेला पारेर राम–सीताका मूर्तिको शोभायात्रा निकालेका छन् र तयार नै नभएको धरहरा उद्घाटन गरेका छन् ।

बालुवाटारमा होस् वा प्रधानमन्त्री कार्यालयमा सामाजिक दूरी कायम गरेर भेला गर्नुपर्छ भन्ने सोच उनमा कत्ति पनि देखिँदैन । अभिभावक मानिने सरकारबाट यस प्रकारको लापरबाही भएपछि जनताले मास्क लगाउन अल्छी गरे भनेर दोष दिनुको के अर्थ ? यसअघि मुलुकमा राजनीतिक विखण्डनको मेला नै लाग्यो । तत्कालीन नेकपाका तीन घटक गाउँ–गाउँसम्म पुगेर एकले अर्कालाई गाली गर्न ठूल्ठूला सभा गर्दै हिँडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here