बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर २ मा विद्युत मिटर जडान नहुँदा शुद्ध खानेपानी सुविधाको लागि भनेर गाडिएको डिप बोरिङ्ग वर्षौदेखि संचालनमा आउन सकेको छैन ।

विद्युत मिटर जडान हुन नसक्दा सिंगौलको परिवर्तनशील टोलमा आर्थिक वर्ष ०७३÷०७४ सालमा लाखौं खर्च गरेर गाडिएको डिप बोरिङ बेवारिसे अबस्थामा पुगेको हो । बोरिङ्ग निर्माण भएर पनि विद्युत आपूर्तिको अभावमा संचालनमा आउन नसकेपछि उपभोक्तानले शुद्ध पिउने पानी प्रयोग गर्न नपाएको स्थानीय रामकृष्ण खुलालले बताउनुभयो ।

स्थानीयले प्रयोग गर्दै आएको खानेपानी धारामा प्रयाप्त पानी नआएपछि नगरपालिकाले उपभोक्ताको ३० प्रतिशत श्रमदानमा ७ लाखको लागतमा बोरिङ्ग खन्ने काम गरेको थियो ।

डिप बोरिङ सञ्चालन उपभोक्ता समितिका अध्यक्ष अर्पण मगरका अनुसार विद्युत मिटर र तार खरिदको लागि रकम अभाव भएपछि बोरिङ्ग संचालनमा ल्याउन नसकिएको बताउनुभयो । उहाँका अनुसार मिटर र तार खरिदको लागि करिव ६५ हजार खर्च लाग्ने र सो रकम कतैबाट पनि प्राप्त भएको छैन ।

बोरिङ्ग निर्माण भएर पनि संचालनमा नआउँदा सिंगौलका स्थानीयले वर्षौदेखि भोग्दै आएको शुद्ध पिउने पानीको अभाव अहिले पनि उस्तै रहेको छ । सिंगौलमा रहेको निजगढ नगरपालिकाका ३ वटै वडाहरुमा खानेपानीको समस्याको रहेको र त्यसको हल गर्न स्थानीय जनप्रतिनिधिहरुले चासो नदेखाएको उपभोक्ताहरुले बताएका छन ।

Leave a Reply