पुष्पराज खतिवडा

मनहर्वा,लायन्स क्लब अफ सिमराले सिमरास्थित एक सामुदायिक विद्यालयमा पंखा जडान गरि सहयोग गरेको छ । लायन्स सिमराले जीतपुरसिमरा वडा नम्बर १० अम्बाटारस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा १० थान सिलिङ पंखा सहयोग गरेको हो ।

आइतबार अपराहन्न विद्यालय परिशरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुधामाप्रसाद यादवलाई क्लबका अध्यक्ष हंकल्पीत न्यौपानेले पंखा हस्तान्तरण गर्नुभएको हो । पंखा अभावमा बालबालिकालाई चर्को घाम र गर्मीमा तातो छानामुनी राखेर अध्यापन गराउनु पर्दा पठनपाठन प्रभावित बनेपछि विद्यार्थी तथा शिक्षकलाई राहत पुगोस् भन्ने उद्देश्यले पंखा सहयोग गरेको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

पाँच कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । २०४४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पंखा जडान भएको थिएन । चर्को गर्मीमा टिनको छानामुनी कष्ठपुर्ण पठनपाठन हुँदै आएको अवस्थामा लायन्स क्लब अफ सिमराको सहयोगबाट विद्यालयले राहत महसुस गरेको विद्यालयका प्रधानाध्यापक यादवले बताउनुभयो ।

‘विद्युत सेवा समेत नभएको विद्यालयमा विद्युत समेत जडान गरिदिएका छौं ।’ सिमरा लायन्सका उपाध्यक्ष दिवाकर भण्डारीले बताउनुभयो । द्रुत रुपमा विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरण सिमराका प्रमुख रामु श्रेष्ठले सहयोग गर्नु भएको भण्डारीले जानकारी दिनुभयो । पंखा वितरण तथा जडान कार्यक्रममा क्लबका कोषाध्यक्ष राजकुमार लामा, सदस्य मिथिलेस कुमार महतो, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply