सिमरा,नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षक सरुवा सम्बन्धि विवादमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुमाथि नगर प्रमुख राजन पौडेलले अभद्र व्यवहार प्रदर्शन गरेकोभन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

घटनाको ३ दिनपछि एमाले नगर कमिटीका सचिव रत्नप्रसाद उप्रेतीले विज्ञप्ति निकालेर वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमाथि अभद्र व्यवहार गरिएको र संयमित भएर नेतृत्वदायी भूमिका खेल्न नगर प्रमुख पौडेलसंग आग्रह पनि गर्नुभएको छ ।

विद्यालयमा सरुवा भएर आउनुभएकी माध्यमिक तह तृतीय श्रेणीकी शिक्षक सीता अधिकारीलाई हाजिर गराउने विषयमा उत्पन्न विवादमा नगर प्रमुख पौडेल र वडा वडा अध्यक्ष श्रेष्ठबीच गत सोमवार घम्साघम्सी भएको थियो । जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माविबाट सरुवा भएर आउनुभएकी शिक्षक अधिकारीलाई विद्यालयमा हाजिर हुन नदिने पक्षमा रहेका वडा अध्यक्ष श्रेष्ठ र हाजिर गराउने पक्षमा रहनुभएका नगर प्रमुख पौडेलबीच हाजिरी रजिष्टर खोसाखोस गर्ने क्रममा घम्साघम्सी भएको थियो ।नगर शिक्षा समितिको निर्णयअनुसार सरुवा गरिनुभएकी अधिकारीलाई हाजिर गराउन सुरक्षाकर्मी र पार्टी कार्यकर्तासहित नगर प्रमुख पौडेल विद्यालय पुग्नुभएको थियो ।
यस क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएका वडा अध्यक्ष श्रेष्ठले हाजिरी रजिष्टर खोसेपछि दुबै जनाबीच भएको घम्साघम्सीले विद्यालयमा तनाव उत्पन्न भएको थियो । रजिष्टर फिर्ता गर्न माग गर्दै नगर प्रमुख पौडेल वडा अध्यक्ष श्रेष्ठमाथि आक्रोशित भएर जाइलाग्नुभएको थियो । वडा अध्यक्ष र नगर प्रमुखको घम्साघम्सीपछि विद्यालयमा केहीबेर तनाव उत्पन्न भएको हो ।

व्यवस्थापन समितिका पदाधिकारीहरु र वडा अध्यक्ष श्रेष्ठले सम्बन्धित विद्यालयबाट रवाना पत्र ल्याएपछि मात्रै हाजिर गराइने अडान लिएका थिए ।सोही घटनालाई लिएर नगर कमिटीका सचिव उप्रेतीले हस्ताक्षर गरेर बिहीवार जारी गरेको विज्ञप्तिमा शिक्षक सरुवा सन्दर्भमा वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठमाथि नगर प्रमुख पौडेलद्धारा गरिएको अभद्र व्यवहारप्रति नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको र सहमति र सहकार्यबाट शिक्षक सरुवाको विषयमा उत्पन्न समस्या समाधान गर्न आग्रह गरिएको छ ।विद्यालय संचालन भइरहेको समयमा नगरको अभिभावक, नेपाल प्रहरी, नगर प्रहरी र आफू सम्बद्ध पार्टीका कार्यकर्ताहरुसहित विद्यालय हाताभित्र प्रवेश गरि विद्यार्थीहरुलाई मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएर वडा अध्यक्ष श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमाथि गरिएको अभद्र व्यवहारको भ्रत्सना गरिएको विज्ञप्तिमा उल्लेख छ ।पदीय मर्यादा ख्याल नै नगरी विद्यालय हाताभित्र भएको उक्त दृश्यले आमनगरबासीलाई लज्जित तुल्याएको भन्दै एमालेले संयमित र सद्भावको वातावरण निर्माण गरि अघि बढ्न विज्ञप्तिमार्फत अनुरोध गरेको छ । एमालेले शिक्षकको पठनपाठन गर्न गर्न पाउने अधिकारलाई समेत सुनिश्चित गर्न आग्रह गरेको छ ।

Leave a Reply