निजगढ,शैक्षिक सुधारको लागि दीर्घकालिन रणनीति तयार पार्ने उद्देश्यले निजगढ नगरपालिका वडा नम्बर ७ स्थित श्रीसत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा आयोजना गरिएको दुईदिने योजना तर्जुमा कार्यशाला गोष्ठी सोमवार सम्पन्न भएको छ ।सरोकारवालाहरुको सहभागितामा दीर्घकालिन योजना बनाएर विद्यालयको पठनपाठनमा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले बताउनुभयो ।
आइतवारबाट शुरु भएको गोष्ठीमा सोमवार विद्यालयका विद्यार्थीको समूहबाट सुमन रौनियार तथा काजल महतो र शिक्षकहरुको समूहबाट किरण श्रेष्ठ र निसा लामाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सुझाव प्रस्तुत गरेका थिए ।
यसअघि सोमवार विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र अभिभावकहरुको तर्फबाट सहभागी सरोकारवालाहरुले आआफ्नो सुझाव प्रस्तुत गरेका थिए ।विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारका अनुसारसहभागीहरुबाट प्राप्त सुझावको आधारमा विद्यालयको शैक्षिक सुधारको लागि दीर्घकालिन रणनीति योजना तयार पारी कार्यान्वयन गरिने छ ।
गौरीशंकर क्याम्पसका प्राध्यापक डा. मायानाथ घिमिरेको सहजीकरणमा सम्पन्न सो कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, शिक्षक हरिशरण सुवेदी, अभिभावक कल्पना पुडासैनी, विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण सापकोटा र शिक्षक अभिभावक संघकी सदस्य सुशिला कार्कीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै संघकी सदस्य कार्कीले पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मारेको बताउनुभयो ।
समापन कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापकस्वर्णकारले गर्नुभएको थियो

















