पुष्पराज खतिवडा
बारा,जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई पञ्चबर्षिय मेलाको सुरक्षा योजना बारा प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको कार्यकक्षमा बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले एक महिने मेला सुरक्षा योजना सार्वजनिक गरेको हो ।

उपरीक्षक खड्काले सार्वजनिक गर्नुभएको सुरक्षा योजनामा मेला भर्न आउने लाखौं भक्तजनहरुको सुरक्षालाई पहिलो प्रामिकतामा राखिएको छ । मेलाका क्रममा हुने चोरी, लुटपाट, ठगी, अखाद्य वस्तुको प्रयोग, बिक्री वितरण, जुवातास नियन्त्रणलगायत सवारी व्यवस्थापन र सहायता कक्ष संचालनमा प्रहरीले भुमिका खेल्ने उपरीक्षक खड्काले जानकारी दिनुभयो । उपरीक्षक खड्का अनुसार पन्चबर्षीय गढीमाइ मेलामा हुने पशु बलिको फोटो, भिडियो खिच्न बनाउन र सामाजिक संजालमा पोष्ट गर्न नपाइने भएको छ ।

प्रहरी उपरीक्षक प्रकाश पाण्डेको कमाण्ड रहने गरी अस्थायी क्याम्प खडागरी सुरक्षा व्यवस्था चस्तु दुरुस्तसँगै कडा बनाइने छ । सो क्रममा सशस्त्र र नेपाल प्रहरी गरी १ जार ६ सयभन्दा बढी प्रहरी परिचालन हुनेछन् । नेपाली सेनाले समेत सुरक्षा र सहायतामा सहयोग गर्ने उपरीक्षक खड्काले बताउनुभयो । १ हजार ६ सय प्रहरी २१ विभिन्न युनिट मार्फत परिचालन हुने र मुख्यगरी मन्दिर परिसर तथा श्रद्धालुहरुको भिडभाड बढी हुने स्थानहरुमा लुटपाट हुन नदिन १ सय ५० जना बढी सादा पोशाकका प्रहरीको निगरानी रहने सुरक्षा योजनामा जनाइएको छ ।

प्रहरीले महत्वपूर्ण सामान र बहुमुल्य गरगहना बोकेर वा लगाएर मेलामा नआउन पनि सर्वसाधारणसंग अनुरोध गरेको छ । मेला स्थलमा चारसय बढी सिसिटिभि क्यामराबाट समेत निगारानी गरिने र सोको व्यवस्थापन महागढीमाई नगरपालिका कार्यालयले गर्ने उपरीक्षक खड्काले बताउनुभयो ।

मन्दिर दर्शन तथा मेला अवलोक गर्न आउनेहरुले प्रयोग गर्ने सवारी साधन मेला परिसरको पश्चिमतर्फ पसाह खोलावारि नै पार्किङ्ग गरि राख्ने र मेला क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज बनाइने योजना प्रहरीको छ । यस्तै मेलामा आउने भिआइपी, भिभिआइपी पाहुनाको सहजताका लागि आकस्मिक सडक सञ्जालको समेत व्यवस्था गरिएको उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

विशेषगरी यही मंसिर २० गतेदेखि २५ गतेभित्र मुख्य पूजासहितको बोका, राँगा लगायतका पशुबली चढ्ने हुँदा सो अवधिमा सुरक्षा व्यवस्थान चुस्त बनाइने जनाइएको छ ।मंसिर १ गते देखि महिनाभर लाग्ने सो मेलाको नेपाल, छिमेकी भारत लगायतका मुलकसँगै विभिन्न मुलुकबाट ५० लाख बढी मानिसले अवलोक तथा मन्दिर दर्शन गर्ने अनुमान मेला व्यवस्थापन समितिले जनाएको छ ।मेलाको मुख्य दिन विशेष गरी २०– २५ गतेसम्म मेला परिसरभित्र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्वास्थ्य सचेतना तथा परीक्षण शिविरसँगै नागरिक सहायता कक्ष संचालन गर्ने बाराका प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

Leave a Reply