कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिकामा दैनिक आगलागीको घट्ना हुन थालेको छ । आगलागीका कारण शनिवार ठोरी २ इच्छानगरमा ६ घर जलेको थियो भने आइतबार ठोरी गाउँपालिका वडा नम्बर ३ ,रामनगरका दिलबहादुर तामाङको गोठ पुर्ण रुपले जलेको थियो । यस्तै सोमबार ठोरी ४ , स्याउलीवस्तीमा आगलागी हुँदा स्थानीय सानुकान्छा थिङ्को घर जलेर नष्ट भएको छ । सोमबार दिउँसो करीब ३ बजेतिर विद्युत सट भएर थिङ्को घरमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको पीडित थिङ्ले बताउनुभयो । आगोले जलेर थिङ्को काठको घर जलेर नष्ट भएको छ भने घरमा रहेको रु ३० हजार नगद लत्ताकपडा, तोरी, चामल लगायत महत्वपुर्ण कागजात जलेर करीब २ लाख बराबरको क्षति पुगेको आगलागी पीडित थिङ्ले जानकारी दिनुभयो । स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरमा लागेको आगलागी नियन्त्रणमा लिएको भएपनि घरबाट नजिकै रहेको रुखमा सल्किएको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन् ।

यसैबीच शनिबार आगलागी भएको ठोरी गाउँपालिका वडा नम्बर २ इच्छानगरका पीडित परिवारलाई ठोरी २ स्थायी घर भएका र हाल चितवनमा बसी व्यसाय संचालन गर्दै आइरहेका सफल माले बुढाथोकीले नगद १० हजार आर्थिक सहयोग गर्नुभएको छ । बुढाथोकीले आइएमइद्वारा आर्थिक सहयोग गर्नुभएको हो । आगलागी पीडित परिवारलाई प्रारम्भिक अवस्थामा गाँसबाँसको व्यवस्था मिलाउन सजिलो होेस् भनेर आर्थिक सहयोग गरिएको बुढाथोकीले जानकारी दिनुभयो । सबैले आपतविपत परेको बेलामा सहयोग गर्नुपर्ने भएको हुँदा सबैलाई ठोरीको इच्छानगरमा ध्यान दिन आग्रह गर्नुभयो । इच्छानगरमा गत शनिबार भएको आगलागीबाट ६ ओटा घर जलेर नष्ट भएपछि सामाजिक व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी छ ।

Leave a Reply