वीरगन्ज,मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकरइद इदुल जोहा बुधबार वीरगन्ज सहित देशभर हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । पर्वको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । वीरगन्जको लाठगल्ली, छपकैया, मुर्ली, गण्डक, बहुअरीकासाथै पर्सा जिल्लाको ग्रामीण भेगमा रहेका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीले भेला भएर नमाज पढ्नुका साथै एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् । कोरोना महामारीका कारण गत वर्ष जस्तै यसपाली पनि बकर इदमा मस्जिद र इदगाहमा पहिलेका वर्षको जस्तो त्यति धेरै भिडभाड भएको देखिएन ।

राष्ट्रिय मुस्लिम आयोगले पनि कोरोनाको जोखिम कायमै रहेकाले घरमै बसेर सुरक्षितरुपमा बकर इद पर्व मनाउन आग्रह गरेको थियो । हिजरी संवतअनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।

यस्तै बकर इदको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताउनु भएको छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको उहाँको भनाइ छ । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्जाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत देउवाले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मुस्लीम धार्मावलम्बीहरुको पर्व बकर इदको शुभकामना दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here