पुष्पराज खतिवडा

मनहर्वा,सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमले आफ्नो सेवामा गुणस्तरीयता कायम गर्न सक्नुपर्ने बताउनुभएको छ ।शनिवार दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशको आयोजनामा सिमरामा सम्पन्न नेपाल टेलिकमले दिने सेवाका सम्बन्धमा आयोजित जानकारी तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारकी प्रवक्ता समेत रहनुभएकी शर्माले यस्तो बताउनुभएको हो ।“नेपाल सरकारको ८८ प्रतिशत लगानी सहितको स्वामित्व रहेको टेलिकमले दिने सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्दछ । सञ्चार सेवाको व्यपार समेत गर्ने टेलिकमले सेवाग्रहीलाई सन्तुष्टि दिनसक्नु पर्दछ । यस्तो गर्न सकेमात्रै सरकारी सेवा प्रभावकारी हुन्छ ।” उहाँले भन्नुभयो ।वर्तमान सरकार जनमैत्रीढंगले अगाडि बढिरहेको भन्दै टेलिकमले दिने सेवा समेत जनमैत्री हुनुपर्नेमा उहाँको जोड थियो । “संचार सेवा जनताको अधिकार हो । जनताको आँगनमा पुगेर दिनुपर्ने सेवा जनताले धाएर समेत नपाउने आएमा त्यो सेवा लिनैपर्छ भन्ने हुँदैन । यस्तै नेपाल टेलिकमले जनतालाई दिने सेवा सुलभ बनाईनु पर्छ ।” उहाँले भन्नुभयो ।यसका लागि टेलिकम संचालक समिति, कर्मचारीहरुले यसका लागि खटेर काम गर्नुपर्ने उहाँको भनाई थियो । निजी कम्पनीहरु फस्टाउँदै जाने र सरकारी संस्था कमजोर हुँदा देश, जनता र यहाँ कार्यरत हजारौं कर्मचारीले दुःख पाउने अवस्था आउन सक्ने मन्त्री शर्माको भनाई थियो । उहाँले समय सापेक्ष सेवालाई विविधिकरण गर्दै सहज बनाउनु पर्नेमा जोड दिनुभयो ।टेलिमकको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफुले पहल गर्ने बताउँदै मन्त्री शर्माले सन् २०२३ भित्र देशका सम्पूर्ण क्षेत्रमा सञ्चार सेवा पु¥याईने बताउनुभयो ।देशभरका सामुदायिक विद्यालयहरुमा निःशुल्क ईन्टरनेट सेवा विस्तार गर्ने, पालिकाका वडा तहसम्म सेवा दिने र प्रतेक प्रदेशका २ वटा जिल्लामा नमुना सेवा दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।यस्तै संघीय साँसद एवं नेकपा एकिकृत समाजवादीका नेता कृष्णबहादुर श्रेष्ठले सेवालाई चुस्तदुरुस्त बनाउन नसक्दा जनकपुर चुरोट कारखाना जस्तै निजी क्षेत्रको कम्पनीसंग प्रतिस्पर्धा गर्न नसकेर डुब्ने अवस्था आउनसक्ने बताउनुभयो ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ स्थित टाँगियाबस्ती, निजगढ नगरपालिका केही वडाहरु र जिल्लाका अन्य कतिपय स्थानहरुमा अझै नेपाल टेलिकमको सेवा नपुगेको भन्दै सो स्थानमा सेवा दिन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा संघीय सांसद ज्वालाकुमारी साह, प्रभु हजरा, बारा, प्रदेशसभा सदस्यहरु र पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । उनीहरुले नेपाल टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्त्री शर्मा र टेलिकमका कर्मचारीहरुसंग आग्रह गरेका थिए । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्राललयका सहसचिव बाबुराम भण्डारीलगायत टेलिकमका उच्च अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here