छिमेकी देश भारतमा कोरोनाको लहर बढ्दो छ । गएको वर्ष यही समयमा भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको थियो । त्यसैका आधारमा नेपालमा सरकारले लकडाउन गरेको थियो र जुन क्रमशः थप्दै गएको थियो । करिब ६ महिनासम्म नेपालमा लकडाउन भयो र करिब ४ महिनादेखि मात्रै मुलुकको दैनिकी केही सहज भएको हो । दैनिकी सहज भए पनि कोरोनाको ग्राफ भने बढ्दो क्रममा रहेको छ, जसले फेरि पनि शंका र त्रास उत्पन्न गराएको छ ।
फेरि पनि नेपालमा लकडाउन हुने होकि भन्ने त्रास पनि बढेको छ । विद्यालय बन्द गर्नका लागि सरकारले भनिसकेको छ । यस्तो अवस्थामा अब के हुन्छ भनेर भन्ने अवस्था नै छैन तैपनि कोरोनाको ग्राफ भने बढेको बढ्यै छ । मध्य तराईका जिल्लाहरुमा समेत कोरोनाको त्रास बढेको छ । कोरोनाको संक्रमण पनि यसैका कारण बढेको हो । अब सर्तकता अपनाउन आवश्यक देखिन्छ ।
सर्तकता भनेको लकडाउन वा विद्यालय बन्द पनि होइन अब सावधानी अपनाएर आम नागरिकहरु पनि अगाडि बढ्न आवश्यक छ । कम्तीमा सरकारले भन्ने गरेको जनस्वास्थ्यको मापदण्डको बिषयमा ख्याल गर्न आवश्यक छ । यसको अनुसरण पनि गर्न जरुरी छ । यस्तो गर्न सकेको खण्डमा मात्रै कोरोनाबाट जोगिन सकिने छ र लकडाउन तथा विद्यालय पनि बन्द गर्नुपर्ने अवस्था आउने छैन ।