जनकपुरधाम,नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका बाराका २ सहित प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिनुभएको हो । त्यसअघि माओवादी केन्द्रले चार प्रदेशसभा सदस्यले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम दल त्यागको सूचना दिएको थियो । पदमुक्त भएका मण्डल धनुषा क्षेत्र नम्बर १ को ख, साह बारा क्षेत्र नम्बर ३ को क र कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को ख बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । बाराका समीर समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । उहाँ पदमुक्त भएपछि माओवादी केन्द्रले सूचीको रोलक्रम अनुसार नयाँ प्रदेशसभा सदस्य पठाउन सक्छ ।