पोखरिया,पर्साको बहुदरमाई नगरपालिकाले न्यून तलबमा कार्यरत कर्मचारीहरुलाई वितरण गर्दै आएको प्रोत्साहन भत्ता यस वर्ष पनि निरन्तरता दिएको छ । नगरपालिका अन्तरगतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोत्साहन स्वरुप मासिक २ हजार रुपैयाँको दरले ६ महिनाको ६ लाख ७५ हजार रुपैयाँ सम्बन्धित कर्मचारीहरुको खातामा पठाइएको लेखापाल हरिप्रसाद कुर्मीले जानकारी दिनुभयो ।
नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९, विद्यालय कर्मचारी २८, महिला स्वयसेविका ९ जना गरी कुल ६६ जना न्यून तलबमा कार्यरत रहेका छन् । जसको मासिक तलब ६ हजारदेखि ८ हजार रुपैयाँसम्म रहेको छ । उनीहरुलाई नै नगरपालिकाले मासिक थप २ हजार रुपैयाँको दरले प्रोत्साहन भत्ताको रुपमा दिदै आएको छ । न्युन तलबमा कार्यररत कर्मचारीको मनोबल उच्च राख्न प्रोत्साहन भत्ता प्रदान गर्दै आइएको नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले वताउनुभयो ।