निजगढ,निजगढ निलो निजगढमा जारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दोश्रो खेलमा बकुलिया एघार बारालाई ३—० गोल अन्तरले पराजित गर्दै निजगढ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निजगढको जितमा कप्तान समन कुमरले मध्यान्तरअघिको चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १—० गोल अन्तरले अघि रहेको निजगढले दोश्रो हाफमा थप दुई गोल गरेको थियो । ५९ औ मिनेटमा समीर तामाङले गोल गर्दै निजगढको अग्रता दोब्बर बनाए । बकुलियाको कमजोर डिफेन्स लाईनलाई तोड्दै निजगढका समीर तामाङले अतिरिक्त थप गरिएको समयमा व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई ३—० गोल अन्तरको जित दिलाएका थिए ।
खेलमा फर्कन गरेको थुप्रै प्रयास बिफल बनेपछि बकुलिया प्रतियोगिताबाट बाहिरिएको छ । ६५ औ मिनेटमा बकुलियाले पेनाल्टी मार्फत गोल गर्ने राम्रो अवशर गुमाएको थियो । बकुलियाका रामयोध्या चौधरीले गरेको पेनाल्टी प्रहार निजगढका गोलरक्षक रबिन बस्नेतले विफल पारे । निजगढका प्रीन्स गुरुङले डि बक्सभित्र फल गरेपछि बकुलियाले पेनाल्टी प्राप्त गरेको थियो ।
खेलको म्यान अफ द म्याच निजगढका समीर तामाङ घोषित भए । म्यान अफ द म्याच घोषित तामाङले ट्रफी सहित दुई हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार निजगढ रातो र बारा एघारबीच प्रतिस्पर्धा हुने छ । निजगढस्थित कछाडिया खेल मैदानमा जारी खेल अपरान्ह ३ बजेपछि शुरु हुने छ ।