वीरगञ्ज,दलित सामुदायलाई महायज्ञको पूजावेदीमा बस्न नदिने निर्णय गरिएपछि पर्साको छिपहरमाई गाउँपालिकामा विवाद उत्पन्न भएको छ ।गाउँपालिकाको वडा नम्बर १ मिर्जापुरमा आजेदेखि हुने श्रीश्रीश्री १०८ श्री लक्ष्मीनारायण महायज्ञ एवं राधाकृष्णजीको प्राणप्रतिष्ठा समारोहको वेदीमा दलित समुदायलाई निषेध गरिएको छ । यज्ञको पूजावेदीमा २० जना गैरदलित मात्र बस्ने निर्णय भएपछि सोको विरोध शुरू भएको छ ।
स्थानीय भागीरथ रामले आपूm वेदीमा बस्न इच्छुक रहेको र सो कार्यको लागि पाँच हजार रुपैया चन्दासमेत दिइसकेको अवस्थामा आपूmलाई वेदीमा बस्न नदिने भनिएकोमा आपत्ति जनाउनुभयो । उहाँले दुई महीना अघिदेखि महायज्ञ तयारीको लागि दलित समुदाय पनि लागि परेर चन्दा सङ्कलन गरेको र यज्ञका सम्पूर्ण कार्यमा सहभागिताको लागि आपत्ति नगरिए पनि वेदीमा बस्न नदिएकोमा आपत्ति जनाउनुभएको हो ।महायज्ञ समितिका अध्यक्ष एवं वडाध्यक्ष रामेश्वरप्रसाद यादवले वेदीमा बस्ने २० जनाले दलित सहभागिता भएपछि नबस्ने भनेर अडान लिएका कारण आपूले दुवै पक्षलाई मिलाउन खोजिरहेको जनाउनुभयो । उहाँले एकजनाको कारण २० जना वेदीमा नबस्ने भएपछि दलित अगुवाहरूलाई यसबारेमा मनाउन खोजिएको बताउनुभयो ।
स्थानीय वृन्दा रामले चन्दा लिने तर वेदीमा सहभागी नगराउने कार्य घोर आपत्तिजनक भएको बताउनुभएको छ । दलित समुदाय यज्ञका लागि गैरदलित सरह चन्दा माग्नेदेखि लिएर सम्पूर्ण तयारीमा लागिपरेको भन्दै यस्तो विभेदकारी कार्यले दलित समुदायको मनोबल खस्किने उहाँको भनाई छ ।
उता, पर्साकै पोखरिया नगरपालिका–४ मा वैशाख २७ गतेदेखि हुन लागेको विष्णु महायज्ञको वेदीमा भने दलित सहभागिता गराइने भएको छ । पोखरिया नपा– ४ मा करीब सय घरपरिवार दलित छन् । उनीहरूलाई सहभागिता गराउनुपर्छ भनेर स्वयम् वडा अध्यक्ष लक्ष्मणसाह कानूले लबिङ गर्नुभएको थियो । केही व्यक्तिहरूले दलित सहभागिताको विरोध गरे पनि अधिकांशले दलित सहभागिता गराउनुपर्ने, उनीहरू पनि हिन्दू धर्मावलम्बी भएकाले उनीहरूको उपस्थिति आपत्तिजनक हुननसक्ने तर्क गर्दै सहभागिताको लागि पहल गरेपछि अहिले त्यहाँ सहभागिता गराइने कुरामा सहमति जुटेको वडाध्यक्ष कानूले बताउनुभयो ।यसअघि, गत वर्ष वीरगंज महानगर– १७ मा भएको विष्णु महायज्ञको वेदीमा पनि दलित सहभागितालाई लिएर विवाद भएको थियो । त्यहाँ पनि वेदीमा दलितलाई सहभागी गराउँदा गैरदलितहरूले सहभागी नहुने चेतावनी दिएपछि विवाद भएको हो ।


















