जनकपुरधाम,प्रदेश २ मा नेकपा एमाले संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको नेता परिवर्तन गरेको छ । प्रदेश २ को प्रदेशसभामा रहेका एमालेका २१ सांसदमध्ये आइतबार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो । आइतबारको बैठकमा सहभागी हुने सांसदहरु माधव नेपाल समूहका हुन् । सांसद बेचु लुंगेलीका अनुसार दलको उपनेतामा रवीन्द्र बैठा चयन हुनुभएको छ । यस्तै, सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र लुंगेलीलाई सचेतकमा राखिएको छ । यी दुबै यसअघि पनि यही पदमा रहुनभएको थियो । तत्कालिन एमाले र माओवादी मिलेर नेकपा गठन बनेपछि संसदीय दलको नेतामा मण्डल नै रहनुभएको थियो । तर, ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि प्रचण्ड–माधव समूहले मण्डललाई नेताबाट हटाएर महतोलाई नै नेता बनाएको थियो । सर्वाेच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र दुबै दललाई पुरानै अवस्थामा फर्किने फैसला सुनाएपछि एमालेको बहुमत सदस्यको बैठकले संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो । नेकपा माओवादी केन्द्रले यसअघि नै भरत साहलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

Leave a Reply