सिकिन्द्र साह
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा किसानले गरेको तालाबन्दी खोल्ने क्रममा उत्पन्न विवाद मंगलवार झडपमा परिणत भएको छ । कार्यालयबाट वितरण गरिने रसायनिक मल नपाएको भन्दै वडा सदस्य दिपेन्द्र साह उर्फ भोला साहसहित किसानहरुको टोलीले आइतबार वडा कार्यलयमा तालाबन्दी गरेको थियो । वडा कार्यालयको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्ररुप लिँदा दुई पक्षबीच झडप भएको हो ।
वडा कार्यालयले आफ्नो कोटामा परेको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नेपाली नागरिकताको प्रमाणपत्रसहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर किसानहरु साँझ ४ बजे पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो । समयअगाडि नै कार्यालय बन्द भएका कारण मलका लागि आवेदन दिन वडा सदस्य साहसहित पुगेका किसानले कार्यालयमा तालाबन्दी गरेका हुन । कार्यालय बन्द भएका कारण आफूहरु मल पाउनबाट वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालबन्दी गरेका थिए । तालाबन्दीका कारण वडाको सबै कामकाज ठप्प बन्दै आएको थियो ।
वडा अध्यक्ष अवधेस सहनीले कार्यालयको ताला खोल्ने प्रयास गरेपछि विवाद सुरु भएको र छलफल हुदै गर्दा एक आपसमा भनाभन परेको र भीडबाट एक्कासी ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट स्थानीय अरुणकुमार पण्डित, दिपेन्द्र सहनी, अजय यादव, सराजुल मिया घाइते भएका छन । घाइते मध्ये पण्डितको अवस्था गम्भीर रहेको र उपचारको लागि वीरगन्जस्थित नेशनल मेडिकलमा पठाइएको छ । अन्य घाइतेलाई भने सिम्रौनगढ नगर अस्पतालमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यलयका सिम्रौनगढका प्रहरी निरीक्षक देवराज काफ्लेले बताउनुभयो ।
पूर्ववडा अध्यक्ष राजेस यादवले स्थानीय चुनावमा पराजित भएपछि सर्वसाधारण किसानलाई उक्साएर कार्यालयमा तालाबन्दी गरेको र झडपको अवस्था सृजना गरेको वडा अध्यक्ष अवधेश सहनीले बताउनुभयो । पूर्ववडा अध्यक्ष यादवले भने मल खाद वितरण सम्बन्धि १८ गतेसम्मको लागि आवेदन दिने भनेर कार्यालयले गरेको सूचना बमोजिम आवेदन दिन भनेर दिउसो ३ बजे पुगेका केही किसानको आवेदन दर्ता नभएपछि आक्रोशित बनेका किसानले कार्यालयमा तालाबन्दी गरेको बताउनुभएको छ । उहाँले नगरपालिकाका मेयर किशोरीप्रसाद कलवार र कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहितको रोहोबरमा छलफल गरेर समस्या समाधान गर्नुपर्ने किसानहरुको माग विपरित जबरजस्ति ताला खोल्ने प्रयास भएपछि बिवाद उत्पन्न भएको बताउनुभयो ।
प्रहरी कार्यालय सिम्रौनगढका अनुसार वडा कार्यालयमा गरिएको तालाबन्दी साँझ अबेलासम्म पनि खुल्न सकेको छैन । दुवै पक्ष लाठी र भाटा लिएर बसेका कारण सो क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ ।
















