कलैया,तीव्ररुपमा फैलिरहेको कोभिड–१९ नियन्त्रणका लागि बारामा गरिएको निषेधाज्ञा जारी रहेको छ । भाइरस नियन्त्रणकै लागि ६ दिनदेखि जारी निषेधाज्ञाका बाबजुद पनि जिल्लामा सङ्क्रमण तीव्र बढेको छ । कलैया अस्पताल बारामा गरिएको परीक्षणमा मंगलबार मात्रै ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न पालिकाहरुबाट ९४ जनाको नमुना संकलन गरिएको मध्ये ६१ जनामा संक्रमण पुष्टि हो । यो संक्रमणको दर परीक्षणको ६४.८९ प्रतिशत हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार जिल्लामा सक्रिय सन्क्रमितको संख्या अहिले बढेर ६७९ पुगेको छ भने ३० जनाको मृत्यु भैसकेको छ । यो परीक्षणले संक्रमण समुदायमा फैलिएर भयाभह हुँने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवको भनाइ छ ।

यता कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बैशाख २३ गतेदेखि लागु हुने लगाएको निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी प्रसासन सक्रियरुपमा लागि परेको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । बजार क्षेत्रमा बिनामास्क निस्केका र निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ९८ पुरुष र १ सय १५ जना महिलाहरुलाई कारबाही गरिएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । जरीवाना बापत हालसम्म २ लाख २१ हजार ३ सय रुपैया राजश्व संकलन गरेको उहाँले बताउनुभयो ।

स्थानीय प्रशासनले प्रहरीलाई परिपत्र गर्दै केन्द्रको स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र माक्सबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएको भएतापनि बारामा भने स्थानीयमा कोरोनाको डर देखिएको छैन । जिल्लामा सुरक्षा सर्तकता बढाएर निषेधाज्ञा कडा बनाउने प्रशासनले योजना बनाएको भएपनि सर्वसाधारणले अटेरी गर्दै आएका छन ।

जिल्लाको सिमरा, निजगढ, कलैया, परवानीपुर, कोल्हवी, सिम्रौनगढ लगायतका क्षेत्रमा निषेधाज्ञाकै समयमा पनि मानिसहरुको भिडभाड हुने गरेको छ । बिहान ११ बजेसम्म पसल सञ्चालन गर्न दिने भनिएपनि बिभिन्न ठाँउहरुमा साँझैसम्म पसल सञ्चालन गरिरहेको पाइएको छ । कोरोना नियन्त्रणकै लागि गरिएको निषेधाज्ञा स्थानीयले नै पालना नगर्नु दुखद भएको निजगढकी स्थानीय समाजसेवी साबित्री भारतीको भनाइ छ ।

जिल्लामा प्रशासनले जारी गरेको निषेधाज्ञाको बेवास्ता गर्दै निर्वाध रुपमा नीजी सवारी तथा व्यवसायहरु सञ्चालन भइरहेका छन् । सर्वसाधारणहरु बिना काम सडकमा आवात जावत गरिरहेका हुन्छन् । अत्यावश्यक काम बाहेकका नीजी अन्य सवारी साधन चल्न नदिने भनिएपनि निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । यसले गर्दा कोरोना संक्रमण दर दिनप्रतिदिन अझै बढ्ने देखिएको छ । निषेधाज्ञा कार्यान्वय गर्न स्थानीय तहसंग प्रशासनले समन्वय गरे पनि स्थानीय तह भने मौन बसेको अवस्था छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here