कलैया,बाराको कलैयामा रहेको कृषि सामग्री संस्थानको गोदाममा अनुदानको मलले भरिभराउ भए पनि किसानले भने हिउँदे बालीका लागि मल पाउन सकेका छैनन् ।धानबाली भित्र्याएलगत्तै हिउँदे मकै लगाएका किसान यतिबेला मलका लागि भौतारिरहेका छन् ।

मकैका लागि डिएपी र पोटास मल आवश्यक पर्छ । मल नपाउँदा समयअनुसार बढ्नुपर्ने मकैको बोट बढ्न नपाएको सिम्रनगौढ नगरपालिका– ८ का किसान कमलेशप्रसाद यादवले बताउनुभयो । सिम्रौनगढका अरु किसानको समस्या पनि उस्तै छ । सरकारी अनुदानको मल नपाइने र भारतबाट अवैध बाटो हुँदै ल्याएको मल महँगो पर्ने यादवको भनाई छ ।
नेपाली अनुदानको ५० केजी मल प्रतिबोरा २ हजार २ सय ५० रुपैयाँमा पाइन्छ । भारतीय मल भने एक बोरा (४५ केजी) ३ हजारसम्म पर्ने किसानहरुले बताएका छन । अनुदानको मल कृषि सामग्री संस्थानबाट कोटा प्रणालीबाट डिलरमा कम आउँने र त्यसमा पनि साना किसानको साटो पहुँचवालाले मात्रै मल पाउने यादवले सुनाउनुभयो ।

अनुदानको मल लिनका लागि स्थानीय तहले सिफारिस पठाउनुपर्ने तर त्यसका लागि पालिकाहरुमा पत्राचार गरिए पनि सिफारिस नआउँदा किसानसम्म मल नपुगेको संस्थानका प्रमुख रविकुमार केसरीले बताउनुभयो । संस्थानले बाराका १६ वटा पालिकाका २ सय ४६ सहकारी (बिक्रेता)लाई डिलर तोकेर मल वितरण गर्दैआएको छ ।अहिलेको ‘लट’मा ६ सय ६७ टन (१३ हजार ३ सय ४० बोरा) डिएपी र ४ सय बोरा पोटास मल गोदाममा राखिएको छ । सरकारले टेन्डरमार्फत् मल खरिद गरी साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानबाट उपलब्ध गराउने गरेको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ गणेश महराका अनुसार बारामा हिउँदको समयमा ६ हजार हेक्टरमा मकै खेती हुने गरेको छ ।

Leave a Reply