नरेश गुप्ता–

बरियारपुर, २७ कार्तिक– कोरोना भारइस (कोभिड– १९) का बिरामीहरुको स्वास्थ्य परीक्षण गर्न कलैया उपमहानगरपालिकाले भर्ना गरेको स्वास्थ्यकर्मी नियुक्तिमा आर्थिक चलखेल भएको आशंका गरिएको छ । उपमहानगरपालिका केही कर्मचारी र जनप्रतिनिधिसमेतको मिलिमतोमा मोटो रकम असुलेर अयोग्य कर्मचारी नियुक्ति गर्ने तयारी भएको हो ।

 

जिल्लाका अन्य पालिकाबाटसमेत रकम संकलन गरेर खरिद गरिएको पिसिआर परीक्षण मेसिन संचालन गर्न आवश्यक जनशक्ति नियुक्तिमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जैसवालले मोटो रकम असुलेको बताइएको छ । आर्थिक चलखेलकै कारण कर्मचारी भर्नाको लागि लिइएको परीक्षाको परीक्षाफल ढिलो गरेर बुधबारमात्र सार्वजनिक भएको छ ।

कोरोना संक्रमितहरुको लागि उपमहानगरपालिकाले पिसिआर चेकजाँचको लागि २ जना माइक्रोबाईलोजिष्ट, २ जना ल्याब टेक्निसियनमा र २ जना ल्याब असिस्टेन्ट नियुक्तिको २ महिनाअघि दरखास्त आह्वान गरेको थियो । गत असोज ६ गतेको लागि निर्धारण भएको लिखित परीक्षा आर्थिक चलखेल गर्न बिना कारण स्थागित गरेर रकम दिने परीक्षार्थीहरुलाईमात्र हाल उतिर्ण गरिएको ल्याब टेक्निसियनका परीक्षार्थी मनिष गुप्ताले बताउनुभयो । नगरपालिकाले ल्याब टेक्निसियनतर्फ पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर– ४ निवासी अमरेन्द्र यादव र कलैया उपमहानगरपालिका वडा नम्बर– २१ का अरुण शर्मासंग मोटो रकम असुलेर नियुक्ति दिन लागेको स्रोतको भनाइ छ ।

 

बारा जिल्लाको १६ स्थानीय तहहरु मध्ये ९ वटा स्थानीय तहको आर्थिक सहयोगमा नगरपालिकाले खरिद गरेर कलैयामा पिसिआर मेसिन संचालन गर्न लागेको हो । कोरोना संक्रमणका बिरामीहरुको परीक्षण गर्न बाहिरी जिल्लामा जानु पर्ने अवस्थाको अन्त्य गर्न जिल्लाका अन्य पालिकाले मेसिन खरिद गरेर कलैयामा संचालन गर्ने निर्णय गरेका थिए । विगत चार महिनाअघि मेसिन खरिद गरिएको भएपनि रकम लेनदेनमा कुरा मिलिनसकेकाले स्वास्थ्यकर्मी नियुक्तिमा ढिलाइ गरिदै आएको थियो ।

 

कार्यालयका स्वास्थ्य शाखा प्रमुख जैसवालले कर्मचारी नियुक्ति प्रकृयामा कुनै अनियमिता नभएको र थप केही बुझनु पर्ने भए प्रमुख प्रशासकीय अधिकृतसंग कुरा गर्न आग्रह गर्नुभयो । यस बारेमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रहद बर्णवालसंग सम्पर्क गर्न खोज्दा उहाँसंग फोन सम्पर्क हुन सकेन ।

Leave a Reply