सिमरा,पछिल्ला दिनमा आँखा पाक्ने समस्या तीव्र रुपमा फैलँदै गईरहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै संक्रमण सर्छ । परिवारको एउटा सदस्यमा समस्या देखिएपछि पुरै परिवारको आँखा पाक्छ । विद्यालयको एउटा शिक्षक वा विद्यार्थीको आँखा पाक्दा अन्यलाई पनि सरिहाल्छ ।यसैगरी सिमराको एकता इंगलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी र अभिभावक पनि समस्यामा थिए । सबैलाई आँखा अस्पताल लैजान त्यति सहज थिएन । समस्याबाट मुक्ति पाउने जुक्ति वीरगञ्ज सामुदायिक आँखा अस्पतालले दिएको छ । बिहीवार अस्पतालको एउटा टोली स्कुलमै पुगेर निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।शिविरमा स्कुलमा अध्ययनरत सबै विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीको समेत आँखा जाँच गरिएको छ । मेडिकल संयोजक महेश सिंह धामीको नेतृत्वमा गएको टोलीले आँखा जाँच गर्नुको साथै औषधि समेत वितरण गरेको अस्पतालका प्रेम घिमिरेले जानकारी दिनुभयो ।आँखा जाँच गराएका १ सय जना भन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको धामीले बताउनुभयो । उनीहरुलाई आँखामा हाल्ने औषधि दिनुको साथै वरफले आँखा सेक्न आग्रह गरिएको थियो ।अभियान डिजिटल वल्र्ड प्रा.लि.को सहयोगमा स्कुलसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो ।शिविरमा आँखा जाँच गराउन आएका कतिपय अभिभावकको आँखाको भिजन कमजोर देखिएको र केहिमा मोतिबिन्दुको समस्या समेत देखिएको थियो ।



















