पुष्पराज खतिवडा

मनहर्वा, २७ कार्तिक– जिल्ला प्रहरी कार्यालय बाराको मुख्य भवनपछाडि बुधबार अपराहन्न दुई वटा पंचायती चलिरहेको थियो ।

अर्को पंचायतीको लागि पनि मानिसहरु जम्मा हुँदै थिए । प्रहरीकै रोहवरमा भैरहको सो छलफलमा एकै छिनमा हातहालाहाल झैं हुन्थ्यो, मानिसहरु चर्को श्वार गर्थे, केहीले छुट्याउँथे, केही भने सम्झाउनतिर लाग्थेँ । निजिकै रहेका प्रहरी भने सानो स्वरमा बोल्नु भनेर उनीहरुलाई दवाद दिइरहेका हुन्थ्येँ । त्यही एउटा पंचायतीमा जिल्ला विकास समिति बाराका पूर्व सभापती छटुप्रसाद यादव, जसपा नेपालका केन्द्रीय सदस्य जितेन्द्र सिंह र अर्का श्याम गुप्तासमेत सहभागी हुनुहुन्थ्यो ।

गाउँका केही यूवाहरुको सामान्य झगडामा पंचायती बसेको थियो । गाउँमै मिलाउन सक्ने हुँदाहुँदै पनी केही मानिसको उक्साहटमा उजुरी परेपछि दुबै पक्षलाई प्रहरीको रोहबरमा छलफल गराइ मिलापत्र गराउने प्रयास गरिएको पंचायतीमा सहभागी पूर्व सभापती छठुप्रसाद यादवले सुनाउनुभयो । जिल्लाका ग्रामीण भेगका केही मानिसहरुमा अझै पनि स्थानीय तहको न्यायपालिकामा निवेदन दिँदा शान कम हुने तर जिल्ला प्रहरीमा दिँदा ठुलै काम गरेको भान हुने मानसिकता पनि छ । ‘प्रहरीमा निवेदन दिएर देखाइ दिएँ भनेर धक्कु लगाउने प्रचलन छ, पूर्व सभापति यादवले भन्नुभयो, गाउँमा बस्ने अनि छरछिमेक र साँध सिमानका ससाना विवाद पनि जिल्लामा तानेर अनावश्यक राजनैतिक खेल गर्ने गलत प्रवित्तिको अन्त्य हुनु पर्छ ।’ कतिपयले मुद्दामामिलाको त्रास देखाएर दुबै पक्षसंग आर्थिक लाभ पनि लिने गरेको पाइएको उहाँले सुनाउनुभयो ।

गाउँठाउँका सामान्य विवादहरु छलफलबाट मिलाउन सके सबैको हित हुन्छ । तर झोक चलेपछि प्रहरीमा उजुरी गर्ने र फुर्सदमा पछुताउने गर्नु राम्रो होइन । सामान्य विवादका उजुरी लिएर अदालत वा प्रहरीमा जानु भनेको राम्रो कुरा होइन । यसरी मुद्दा मामिला गरेर हिडनेले पनि कालान्तरमा समाजमा मिलाउन पाएको भए राम्रो हुने रहेछ भनेर पछुतो मानेका घटना पनि धेरै छन । त्यसैले जनप्रनिधि, सामाजिक अगुवा र प्रहरीको सानो प्रयास पनि दुई परिवार, दुई झगडियालाई ठुलो नोक्सानीबाट बचाउने रामबाँण हुन सक्ने पूर्व सभापती यादव बताउनुहुन्छ ।

गाउँघरमा भएका साँधसिमाना, गाली गलौजका कुटपिट , परिवारिक किचलोका दर्जनौं उजुरी प्रहरीमा आउँछन् । दैनिक दर्ता हुने उजुरीको र प्रकृती अनुसार प्रहरीकै रोहवारमा दुवैपक्ष बोलाएर छलफलको माध्यमबाट समाधान खोज्ने गरिन्छ । दैनिक २० वटा भन्न बढी मुद्दामा छलफल गराई दुईपक्ष विच मिलापत्र गराएर पठाउने गरिएको प्रहरीका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

आर्थिक २०७६/०७७ मा कार्यालयमा दर्ता भएको १ हजार ४ सय २३ उजुरी मध्ये ६ सय २३ वटा मिलापत्रमा टुँगिएका थिए । श्रीमान्/श्रीमतीकाे सामान्य झगडा, सासु/बुहारीबीचको घराँयसी विवाद र केही घरेलु हिंसा लगायत ६ सय ७४ उजुरी पेरकामा ३ सय १६ मिलापत्र भएका थिए । त्यस्तै छरछिमेकबीचको विवाद, भनाबैरी, साँधसिमाका झगडा जस्ता सामाजिक हिंसाका ७ सय ४९ उजुरी परेकामा ३ सय ७ मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । सामान्य किचलोका निवेदन प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीमा आउने गरका हुन् ।
कार्यालयमा प्राप्त उजुरीको प्रकृति हेरी मिलापत्र योग्य विवाद भद्रभदाद्मीहरुसमेतको रोहवरमा मिलाएर पठाउने गरिएको नायव उपरीक्षक मिश्रले बताउनुभयो । उहाँका अनुसार प्रहरीको रोहबरमा दुवैपक्षका कुरा पंचायतीमा मसिनोसँग केलाएर छलफल गराइन्छ । ‘छलफलको क्रममा कोही ठुलो श्वरले बोल्छन, कोही रिसाउछन, उहाँले भन्नुभयो, हामी सम्झाइबुझाइ गर्छौ, त्यसपछि फेरि खुसी भएर मिलापत्रको लागि दुबै पक्ष तयार हुन्छन ।’ दुबै पक्ष लचक भएपनि टुङ्गोमा पुग्न सजिलो हुने उहाँले बताउनुभयो । यसैगरी प्रहरीले सामान्य झैझगडाका अधिकांश विवाद छलफलमार्फत सहमतिमा पुर्याउने गरेको मिश्रले सुनाउनु भयो । मिश्राका अनुसार कतिपय उजुरीहरुमा गाउँघरमै मिल्ले र सोको जानकारी नआउने गरेको पनि सुनाउनुभयो ।

संविधानले पालिकाहरुमा उपप्रमुखको नेतृत्वमा न्यायपालिकाको अधिकारसमेत दिएर न्यायिक समिति गठन गरेको छ । तर राजनितिक पुर्वाग्रहमा प्रभावकारी न्याय सम्पादन नहुने भन्दै धेरै मानिसहरु अहिले पनि प्रहरीकोमा नै आउने गरेको डिएसपि मिश्रले बताउनुभयो । गाउँगाउँमा न्यायलय भएपनि प्रहरीमा उजुरी घट्नुको साटो झन बढिहेको उहाँको भनाइ छ ।

Leave a Reply