गाेकुल घाेरसाइने–

निजगढ, २६ कार्तिक– तपस्वी भनिएका रामबहादुर बम्जनको निजगढ नगरपालिका वडा नम्बर– १२ बुङ्गजोरस्थित घरमा प्रहरीले अदालतको म्याद टाँस गरेको छ । आफना अनुयायीमाथि हत्या र बलात्कारको आरोप लागेका बम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन जानु भन्दै उनको घर र वडा कार्यालयमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले सोमबार म्याद टाँस गरेको हो ।

 

बलात्कार, हत्या, बेपत्ता र शारीरिक तथा मानसिक यातना दिने आरोप लागेका बम्जनविरूद्ध जिल्ला अदालत सर्लाहीले वारेन्ट जारी गरी हाजिर हुन आउन दिएको म्याद नाघेपछि प्रहरीले उनको चार महिनादेखि खोजी गर्दै आएको छ । बम्जन अदालतमा हाजिर हुन नगएपछि प्रहरी टोली उनकै घर पुगेको हो । जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बम्जनविरूद्ध आफनै अनुयायी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोग लगाउदै मुद्दा दायर गरेपछि जिल्ला अदातलले उनीविरुद्ध असार २१ गते वारेन्ट जारी गरेको थियो ।

रौतहटकी तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि बम्जनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । अदालतको त्यही आदेश कार्यान्वयनका लागि निजगढ नगरपालिका– १२ मा पर्ने रतनपुरीस्थित बमजनको जन्मघर र वडा कार्यालयमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने म्याद सूचना टाँसिएको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर विकास थपलियाले बताउनुभयो ।

प्रहरीले बम्जनको घर परिवारका सदस्यहरुलाई सूचना टाँसको साक्षी बस्न भनेको थियो । तर उनीहरू नबसेपछि जबरजस्ती नगरी वडाअध्यक्षको रोहबरमा कानूनबमोजिम सूचना टाँस गरिएको इन्स्पेक्टर थपलियाले बताउनुभयो । ३७ दिनअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनको वारेन्ट पठाएको र पक्राउको लागि खोजी गरे पनि नभेटिएपछि घरमा लगेर सूचना टाँसिएको निजगढ प्रहरीले जनाएको छ । घरमा म्याद सूचना टाँसेको ३५ दिनभित्र उनी अदालतमा उपस्थित हुनु पर्नेछ । नभए कानुनअनुसार उनीविरूद्धको बलात्कार मुद्दामा सुनुवाइ अघि बढ्ने बतइएको छ । गंगामायाले गएको असारमा बलात्कारको जाहेरी दिएपछि सर्लाही प्रहरीले आवश्यक अनुसन्धान गरी सरकारी वकिललाई प्रतिवेदन पेश गरेको थियो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बम्जनविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर भएपछि प्रतिवादीहरूलाई अदालतले नै पक्राउ वारेन्ट वा उपस्थित हुने म्याद जारी गर्नुपर्ने कानुन छ । म्याद तामेल भएपछि बाटोको म्यादबाहेक ३५ दिनभित्र बम्जन अदालतमा उपस्थित नभए पनि सुनुवाइ अघि बढेर मुद्दाको फैसला हुन सक्छ । जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ । १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ । गंगामायाले दुई वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि आफूमाथि २०७३ साल साउन २० गते बम्जनले बलात्कार गरेको आरोप लगाउनुभएको थियो । बम्जनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तीमा एक आनीलाई बलात्कार गरेको आरोप पनि छ ।

Leave a Reply