दुष्यन्त चौधरी
सखुवाप्रसौनी,उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालयले बनाउन लागेको प्रशासनिक भवन बनाउन अन्तरिम आदेश दिएको छ ।
तत्कालीन गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरीले चैत २४ गते गाउँपालिकाको वडा नम्बर २ स्थित पुरानो सैनिक ब्यारेकमा प्रशासनिक भवन शिलान्यास गरिसकेको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकारी दिनुभयो ।
तत्कालीन उपाध्यक्ष चौधरीले शिलान्यास गरेकै स्थानमा गाउँपालिकाको प्रशासनिक भवन बनाउने सम्बन्धि जेठ २४ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेको अध्यक्ष यादवले सुनाउनुभयो । तर गाउँपालिकाका पूर्वअध्यक्ष प्रदिप जयसवालको इसारामा केहि व्यक्तिले उक्त ठाउँमा प्रशासनिक भवन बनाउन नदिने नियतले रोक्न प्रयास गरेको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।
गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालको आमा कमलावती देवीले दान गरेको जग्गामा प्रशासनिक भवन बनाउनुपर्ने भनी उच्च अदालत जनकपुरका अस्थायी इजलास वीरगन्जमा अन्तरिम आदेशका लागि रिट दायर गरेको बारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जानकारी दिनुभयो ।
गाउँपालिकाले निर्णय गरेर बनाउन लागेको स्थानमा प्रशासनिक भवन नबनाउन भनी आन्तरिक आदेशको लागि उच्च अदालत जनकपुरका अस्थायी इजलास वीरगन्जमा तत्कालीन गाउँपालिकाका अध्यक्ष जयसवालकी आमा कमलावती देवीले रिट दायर गर्नुभएको थियो ।तर अस्थायी इजलास वीरगन्जका न्यायाधीश लेखनाथ पौडेल र न्यायाधीश गणेशप्रसाद बरालको संयुक्त ईजलासले श्रावण ३० गतेको सुनवाइमा तत्कालीन गाउँपालिकाका अध्यक्ष जयसवालकी आमा कमलावती देवीलाई आन्तरिक आदेश नदिएको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष यादवले तत्कालीन गाउँपालिका अध्यक्ष जयसवाल गत बैशाखमा भएको निर्वाचनमा आफूसँग पराजित भएका कारणले यस्तो अनैतिक कार्यहरू गरिरहेको आरोप लगाउनुभयो । गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालले नै कार्यपालिकाका सदस्यहरूलाई बेलाबेलामा उक्साइ दिने गरेकाले हालसम्म गाउँपालिकाले गाउँसभा गर्न नसकेको समेत अध्यक्ष यादवले जानकारी दिनुभयो । पूर्वअध्यक्ष जयसवालका कारण गाउँपालिकाबाट हुने अधिकांश कार्यहरू बिथोल्ने गरेको उहाँले जनाउनुभयो । जसका कारण गाउँपालिकामा सेवा लिने सेवाग्राहीलाई निकै नै समस्या उत्पन्न हुने गरेको बारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।