कलैया,बारा प्रहरीले बाराको डुमरवानाबाट स्रोत नखुलेको नगदसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ दोहरी टोलका ३२ वर्षीय अनिल पटवारी थारु र वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले म.प्र.०३्००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएर गरेको खानतलासीमा सो रकम बरामद गरेको हो। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पैनी टोलस्थित सडकमा रोकिएको पिकअप गाडीमा तलासी गर्दा नगद १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका दुवैजनाले उक्त रकमको स्रोतबारे कुनै स्पष्ट जानकारी दिन नसकेको र अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।प्रहरीका अनुसार स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवै व्यक्तिको पृष्ठभूमि र रकमको स्रोत पत्ता लगाउन थप अनुसन्धान जारी रहेको छ।

Leave a Reply