निजगढ,निजगढ नगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ महीनामा निजगढमा कृषि÷पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुने भएको छ ।निजगढ नगर उद्योग वाणिज्य संघले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ११ गतेदेखि माघ २२ गतेसम्म निजगढ नगरपालिका– ८ स्थित खयरघारी खेल मैदानमा पहिलो पटक निजगढ महोत्सव– २०८१ आयोजना गर्न लागिएको संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
वाणिज्य संघको सभाहलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले उद्योग, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर महोत्सवको आयोजना गर्न लागिएको र यसबाट निजगढको समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियत दरमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवलाई निजगढ नगरपालिकाको समेत साथ सहयोग रहेको बताउदै अध्यक्ष श्रेष्ठले निजगढ नगरपालिका यस महोत्सवको संरक्षकको रुपमा रहेको जानकारी दिनुभयो ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धन र एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।बालबालिका तथा यूवाहरुको मुख्य आकर्षण रुपमा रहदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, संस्कृतिको जर्गेना गर्ने, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग तथा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने महोत्सवमा ख्याती प्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यस्तै निजगढ नगरपालिकामा रहेका विभिन्न मठमन्दिर र पर्यटन क्षेत्रको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।यस्तै आयोजकले महोत्सवमा प्रत्येक दिन झाँकी लाखे नाच (नेवार), कौडा÷कौह्रा (मगर), लाठी नाच (थारु) तथा नगरभित्र रहेका विभिन्न जात जातीका संस्कृतिहरुको प्रदर्शनी गरिने जानकारी पनि दिएको छ ।
करिव १ करोड अनुमानित खर्च गरी स्थानीय र बाह्य गरी २ लाख ५० हजार अवलोकनकर्ता सहभागी गराउने लक्ष्य आयोजकको रहेको बताइएको छ । महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा १ सय ५० वटा स्टल रहनेछ ।महोत्सव सफल पार्न मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा निजगढ नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष नवराज मैनाली, उषा लामा मोक्तान, महासचिव गोविन्दप्रसाद न्यौपाने, सदस्यहरू उमेश दाहाल, सरोज कोइराला, दिपा सापकोटा, अरूण साह, इन्दीप कोइराला, राजन क्षेष्ठलगायतको उपस्थिति रहेको थियो ।


















