पुष्पराज खतिवडा
मनहर्वा,शहरी विकास तथा योजनामन्त्री रामकुमारी झाँक्रीले कलैया उपमहानगरपालिका वडा नम्बर २१ र २२ को दलित बस्तीको निरीक्षण गर्नुभएको छ । उहाँले सो वडाको मटेरिया र खमवाका दलित परिवारको घर निर्माण गरिदिने बाचा गर्नुभएको छ ।
बारा क्षेत्र नम्बर ३ स्थित दलित बस्तीमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको प्रतिनिधिमण्डलले अनुगमन गरेको हो । क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादवले आफ्नो क्षेत्रका दलित बस्तीमा बसोबास गर्ने दलित समुदायको आवास निर्माण गर्ने लक्ष्यअनुरुप मन्त्री झाँक्रीलाई दलित समुदायको दयनीय अवस्थाबारे अवगत गराउनु भएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका यादवको लामो समयदेखिको अथक प्रयासका कारण अब त्यस क्षेत्रका दुसाद, धाँगड, मेस्तर, डोम समुदायले पक्की घर प्राप्त गर्ने भएका छन् ।
न्युन आर्थिक अवस्थाबाट गुज्रिएका र कच्ची घरमा बस्दा घाम पानीसहित अन्य जोखिमहरुकाबीच बाँचिरहेका दलित समुदायले अब आरामसँग पक्की घरमा बस्न पाउने सांसद यादवको विश्वास छ । एकीकृत बस्ती निर्माण गर्ने योजनाअनुरुप सो क्षेत्रका करिब २ सय जना अल्प संख्यक समुदायको घर निर्माण हुने सांसद यादवले जानकारी दिनुभयो ।
दलित बस्तीमा मन्त्री झाँक्रीसँगै सांसद यादवको निरीक्षण र आश्वासनपछि उनीहरुमा पक्की घरमा बस्ने पाउने आशा पलाएको छ । उक्त बस्तिमा करिव २ सय दलित परिवारका बसोबास रहेको छ । दलबल सहित बारा आउनु भएकी मन्त्री झाँक्रीले मंगलबार नै बारा र पर्सा जिल्लाका विभिन्न स्थानको अवलोकन गर्नुभएको छ ।