निजगढ, २६ भदौँ– कोरोना भाईरस विपद न्युनीकरण समन्वय तथा अनुगमन समिति निजगढले गठन गरेको अनुगमन समितिले निजगढ नगरपालिका वडा नम्बर– ११ र १३ का विभिन्न गाउँमा संचालित पसल, होटेल तथा व्यवसायको बिहिबार अनुगमन गरेको छ । समितिले वडा नम्बर– ११ को रतनपुर र १३ को डम्मरपुर बजार क्षेत्रको अनुगमन गरेको हो ।
निजगगढ नगरपालिकाले कोरोना भाइरस जोखिम न्युनीकरणका लागि जारी गरेको होटेल, रेस्टुरेन्ट, पसल, अन्य व्यवसाय र बैङ्क तथा वित्तिय संस्था संचालन कार्यविधि २०७७ अनुरुप रतनपुर र डम्मरपुरमा व्यवसाय संचालन भए नभएको बारे अनुगमन गरेको हो ।
समितिकी सदस्य माला लामाकाअनुसार बिहिबार ३ दर्जन भन्दा बढी पसल व्यवसायमा अनुगमन गरिएको छ । समितिका सदयस्यहरुले होटल, पसल र अन्य व्यवसायीकोमा पुगेर नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार व्यवसाय संचालन गर्न अनुरोध गरेका थिए । समितिकी सदस्य लामाले केही व्यवसायीलेमात्र सुरक्षाका न्युनतम मापदण्ड पुरा गरेर व्यवसाय संचालन गरेको पाइएको र कार्यविधिको पुर्णरुपमा पालन गरेर पसल तथा होटेल संचालन गर्न व्यवसायीहरुलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।
समितिले बुधबार निजगढ नगरपालिका वडा नम्बर– १, २ र ३ मा पर्ने सिगौल क्षेत्रका पसल तथा होटेल र व्यवसायको अनुगमन गरेको थियो । यसअघि निजगढस्थित पुर्वपश्चिम राजमार्गको दायाँबायाँ क्षेत्रमा संचालित व्यवसायहरुको अनुगमन पुरा गरेको समितिले रतनपुर र सिगौल क्षेत्रका व्यवसायको पनि अनुगमन थालेको हो ।
नगरपालिकाले तयार पारेको कार्यविधिअनुसार तोकेको सुरक्षा मापदण्ड पुरा गरेर बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म व्यवसाय संचालन गर्नसक्ने व्यवस्था गरेको छ । सोको अनुगमनको लागि कोरोना भाईरस विपद न्युनीकरण समन्वय तथा अनुगमन समिति निजगढले नगरपालिकाका अधिकृत रिसव काफ्लेको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।