सिम्रौनगढ,बाराको पुरातात्विक, सांस्कृतिक तथा धार्मिक र ऐतिहासिक महत्व बोकेको सिम्रौनगढ क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गरिएको छ ।आम आदमी पार्टी निकट आइटी आर्मीका बारा जिल्ला इन्चार्ज सन्नी गुप्ताको नेतृत्वमा काठमाडौँ पुगेका सिम्रौनगढका युवाहरूले पुरातात्विक विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई भेटेर सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापन पत्रमा भनिएको छ, हजारौँ वर्षअगाडि सिम्रौनगढ एउटा सशक्त शासन प्रशासनको केन्द्र राजधानी समेत रहेको विषय इतिहासमा उल्लेख छ । यस क्षेत्रमा पाइने अनगिन्ती पुरातात्विक संरचना र तीनका भग्नावशेषहरू तथा धर्तीको गर्भभित्र समाहित रहस्यहरू यस अमूल्य सम्पदाका जीवित प्रमाणहरू हुन् भनिएको छ ।मध्यकालिन तिरहुत राज्यको राजधानीको रुपमा रहेको सिम्रौनगढमा पुरातात्विक महत्वका बस्तुहरु फेला पर्ने क्रम जारी छ । यही साउन २० गतेमात्रै सिम्रौनगढमा सडक खन्ने क्रममा डढेको चामलको भण्डार भेटिएको थियो भने त्यसअघि पनि पोखरी खन्ने क्रममा उक्त क्षेत्रमा भगवान् ब्रह्माको मूर्ति फेला परेको थियो ।

Leave a Reply