वीरगन्ज,वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा तालाबन्दीको विरोधमा तालाबन्दी भएको छ । विद्यार्थीले गरेको तालाबन्दीको विरोधमा बुधवार त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी सङ्घ ठाकुरराम एकाई कमिटीले क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेको हो ।विद्यार्थीको तालाबन्दीका कारण क्याम्पस आएर पनि हाजिरी गर्न नपाएको र चैत महिनाको तलब पनि नपाएको भन्दै त्रिवि कर्मचारी सङ्घका अध्यक्ष किशोरीप्रसाद चौधरीको अगुवाइमा क्याम्पस प्रमुखको कार्यकक्ष, कर्मचारी प्रशासन, विद्यार्थी कल्याण तथा खेलकुद शाखा, स्तरोन्नति कार्यालय, पुस्तकालय भवन र पीजी विभागमा तालाबन्दी गरेको हो । विद्यार्थीले यसअघि वैशाख ४ गते विभिन्न माग राख्दै क्याम्पसको सामान्य र आर्थिक प्रशासन शाखामा तालाबन्दी गर्दैआएका छन ।अधिकांश शाखामा तालाबन्दी क्याम्पसले पठनपाठन स्थगित गरेको छ जसकारण त्यहाँ अध्यनरत हजारौँ विद्यार्थी पढाईबाट वञ्चित भएका छन् । क्याम्पस प्रशासनले एउटा सूचना जारी गर्दै तालाबन्दीका कारण वैशाख १४ र १५ गते अर्थात बिहीवार र शुक्रवार पठनपाठन बन्द रहने जनाएको छ । राजनीतिका कारण ठाकुरराम क्याम्पसको पठनपाठन प्रभावित हुनु दूर्भाग्यपूर्ण भएको शिक्षक रोशन लामिछानेले बताउनुभयो । समस्या समाधान गर्नुभन्दा पनि तालाबन्दी गरेर त्यसलाई थप जटिल बनाउनु दुःखद भएको बताउँदै उहाले पठनपाठन सुचारु गर्न सुझाव दिनुभएको छ । ठाकुररामका क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसियाले दिएको राजिनामा फिर्ता लिनुपर्ने मागसहित विद्यार्थीले गरेको तालाबन्दीका कारण वैशाख ४ गतेदेखि क्याम्पसको सामान्य र आर्थिक प्रशासन शाखा बन्द छ । पर्सा बाहिर सारिएको क्याम्पसको परिक्षा केन्द्र जिल्लामै फिर्ता ल्याउन नसकेपछि प्रमुख डा. चौरसियाले वैशाख ३ गते राजिनामा दिनुभएको थियो । राजिनामा फिर्ता लिनुपर्ने मागसहित त्यसकै भोलिपल्ट विद्यार्थीको एउटा समूहले सादा कागजमा विज्ञप्ति जारी गर्दै प्रशासन र आर्थिक शाखामा तालाबन्दी गरेको हो । सामान्य र आर्थिक प्रशासन शाखाको तालाबन्दीका कारण क्याम्पसको कामकाज प्रभावित भएको छ ।विद्यार्थीले गरेको तालाबन्दीका कारण प्रशासनिक काम ठप्प भएको र आर्थिक शाखामा लागेको तालाबन्दीका कारण समयमा तलब नपाएपछि क्याम्पस प्रशासनमाथि दवाव सृजना गर्न आफूहरुले पनि तालाबन्दी गरेको कर्मचारी सङ्घका उपाध्यक्ष रामाशिष बैठाले बताउनुभयो । बैठाकाअनुसार पटकपटकको आग्रह पश्चात पनि क्याम्पस प्रशासनले कर्मचारीको माग सम्बोधन गर्न गम्भीरता नदेखाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।यता निमित्त क्याम्पस प्रमुख अनिल रमणले विद्यार्थी र कर्मचारी दुवैको समस्या समाधान गर्न आफू लागिपरेको दावी गर्नुभएको छ । उहाँले तालाबन्दी गर्ने विद्यार्थी सम्पर्कमा आउन नसकेको बताउँदै उनीहरुसँग समन्वय गरेर तालाबन्दी खुलाउने प्रयास भइरहेको बताउनुभयो ।क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसिया राजनीमा बुझाएदेखि क्याम्पस जानुभएको छैन । ईमेलमार्फत त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई उहाँले बुझाएको राजिनामा स्वीकृत भए नभएको समेत स्पष्ट हुन सकेको छैन ।

Leave a Reply