सिगौल,बाराको निजगढ नगरपालिकासंग सिमा जोडिएको मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ मा सार्वजनिक जग्गा र राष्ट्रिय वनमा अतिक्रण बढेको छ ।
सार्वजानिक जग्गा र राष्ट्रिय वन वडा नम्बर १ को ढिकीफेदी ब्लक नम्बर ४ र ५ मा रहेको खानेपानी ट्यांकी माथिको जमिनमा अतिक्रमण बढेको हो । ढिकीफेदीको आसपासमात्र नभई धन्सार खोलाको छेउछाउमा रहेको चरिचरण समेत प्रत्यक दिन अतिक्रमण भइरहेको छ । यसरी राष्ट्रिय वन र खोला खोल्सीको छेउमा रहेको सार्वजानिक जग्गा इपिल वस्ति र अरुण वस्ति आसपासमा कोरोना भाइरस न्युनीकरणको लागि जारी गरिएको निषेधाज्ञापछि अतिक्रमण गरि लगाइएको मकैबाली समेत हरियो भइसकेको छ ।
बकैया गाउँपालिका वडा नम्बर १ राजुवामा रही राजनीतिक पार्टीका कार्यकर्ताहरुको आडमा सो भेगमा सार्वजानिक जग्गा र राष्ट्रिय वन क्षेत्रको जमिन अतिक्रमण हुदै आएको रहस्य खुलेको छ ।
मकवानपुरको जिल्ला वन कार्यालयले समयसमयमा वन गस्ति नगर्दा बकैया गाउँपालिका वडा नम्बर १ मा बर्षेनी २० देखि ३० हेक्टर भन्दाबढी राष्ट्रिय वन र सार्वजानिक जग्गा अतिक्रमण गरेर आवादि हुने गरेको छ । राष्ट्रिय वन र चरिचरण क्षेत्रसमेत राजनीतिक दलका कार्यकर्ताहरुको आडमा अतिक्रमण भइरहेको भनेर जिल्ला वन कार्यालयलाई मौखिक आग्रह गर्दासमेत कोरोना भाइरसको बहाना देखाउदै बेवास्ता गरेको स्थानीयको भनाइ रहेको छ ।