पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को डकाहा पैनीटोलमा आयोजित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी आयोजक मित्र यूवा क्लब डकाहले जितेको छ ।शनिवार डकाहस्थित खेल मैदानमा भएको फाईनल खेलमा वडा नं. १८ को मौवादेवी यूवा क्लब बडहर्वालाई ३ शुन्य गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी उचालेको हो । जितसंगै डकाहले ५० हजार पुरस्कारसहित ट्रफी हात पारेको छ भने उपविजेता मौवादेवी यूवा क्लब बडहर्वाले २५ हजार नगदमा चित्त बुझाएको छ ।आयोजकका लागि खेलको ५औं मिनटमा अमित बछारले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ४६ औं मिनटमा मित्र यूवा क्लबका खेलाडीको प्रहार रोक्ने क्रममा मौवादेवीका खेलाडी सागर चौधरीको खुट्टाबाट चिप्लीएको बल आफ्नै पोष्टमा छिर्दा आत्माघाती गोल हुन पुगेको थियो भने खेलको अन्तिम समयमा अन्जन बछारले गोल गरेपछि आयोजकको जित फरालो बनेको थियो ।प्रतियोगिता अवधिमा सर्वाधिक गोलकर्ताको उपाधी आयोजका कृपाकान्त चौधरीले पाए । उनले प्रतियोगितामा सबैभन्दा धेरै ६ गोल गरेका थिए । यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी आयोजकै अमित बछारले पाएका पाएका छन् ।आयोजक टोली सोही वडाको टाँगियाबस्तीको ओझेल यूवा क्लबलाई र मौवादेवी कोल्हबी नगरपालिका वडा नम्बर ४ जुगवास्थित प्रगती यूवा क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गरेका थिए । फाइनल यात्राको लागि दुबै टिमले आफ्ना प्रतिस्पर्धीलाई टाईबेकरमा पराजित गरेका थिए ।वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको विजेता एवं उपविजेता टिमका साथै खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।विजयादशमी, दिपावली एवं छट पर्वको अवसरमा गत असोज २२ गतेबाट जारी प्रतियोगिता कार्तिक ३ गते समापन गर्ने तालिका थियो । तर प्राविधिक कारण देखाउँदै आयोजकले ४ गतेका लागि फाईनल खेलको मिति तय गरेको हो ।मौवादेवी यूवा क्लबले सो मितिमा खेल खेल्न ईन्कार गरेको थियो । दशैंपछि पटकपटकको छलफलबाट भएको सहमतिमा शनिवारका लागि फाईनल खेल आयोजना गरिएको आयोजक क्लब मित्र यूवा क्लबका अध्यक्ष गुणराज मगरले बताउनुभयो ।
















