कृपा संवाददाता
हेटौंडा , १ मंसिर । भीमफेदी कारागारका तत्कालिन जेलर चिरञ्जिवी थापामाथि ‘अकुत सम्पत्ति’ कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । थापामाथि अकुत सम्पत्ति आर्जन गरेको र अस्वभाविक जीवनयापन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुर आएपछि अख्तियारले थापाले सार्वजनिक सेवा आरम्भ गरेको २०४५/०२/२४ देखि आर्थिक बर्ष ०७५/०७६ सम्म आर्जन सम्पत्ति छानविन गरेको थियो ।
छानविनका क्रममा आम्दानी र खर्चको हिसाव गर्दा एक करोड १३ लाख ६० हजार ४ सय १० रुपैँया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको खुलेको अख्तियारले जनाएको छ । त्यसैगरी, थापाले श्रीमति गोमा कट्टेल थापाको नाममा अचल सम्पत्ति खरिद गरेको पाईएको भन्दै चिरिन्जिवि थापा र श्रीमति गोमाविरुद्ध स्रोत नखुलेको रकम जफत र कैद सजायको माग दाविसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।
थापाले आफु कारागारको जेलर भएको बेला गरेको गलत कामको बारेमा हेटौँडा सन्देशमा श्रृंखलाबद्ध समाचार आएको थियो । समाचार सम्प्रेषणका लागि प्रतिक्रिया लिन खोज्दा थापाले सन्देश संवाददातालाई धम्क्याएका थिए । उनी जेलर हुँदा कारागारमा ताल खेलाउने, जेल सरुवा भएकालाई स्थानान्तरणका लागि रकम लिने लगायतका आरोप लागेको थियो ।