पुष्पराज खतिवडा

मनहर्वा, २७ साउन– कोरोना भाईरस संक्रमितको उपचारका लागि बारामा ४ सय शैयाको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा मंगलबारबाट १५ दिनभित्र काम सम्पन्न गर्ने प्रदेश स्तरीय आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय भएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितको रोहवरमा आइतबार साँझ सिमरामा सुरक्षा निकायका प्रमुखहरुसहित बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको कोरोना अस्थायी उपचार केन्द्रको स्तरवृद्धी गरी ३ सय शैया र वडा नं. १ को पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्रमा थप एक सयको गरी ४ सय शैयाको आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरिएको हो ।

प्रदेश २ सरकारको एक करोड ७५ लाखको बजेटमा सुविधा सम्पन्न आइसोलेशन तयार गर्न लागिएको मेयर पौडेलले जानकारी दिनुभयो । आइसोलेशन नियमित संचालनकालागि नगरपालिकाले प्रदेश नम्बर २ सरकारसंग समन्वय गरी काम गर्ने भएको छ ।

त्यसैगरी नगरमा मौजुदा स्वास्थ्य जनशक्ति परिचालन गरी कोरोना नियन्त्रणमा प्रभावकारी अभियान संचालन गर्ने गरिने मेयर डा. पौडेलले जानकारी दिनुभयो । यसका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री र आइसोलेशन निर्माणको काम बोलपत्र आह्वान गरी नियमानुसान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
सिमरास्थित होटल सिमरा इनमा नगरका प्रमुख पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रजिअ पण्डित, प्रदेश नम्बर २ प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, नेकपा जिल्ला कमिटी संयोजक क्षेत्रबहादुर श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका प्रतिनिधि मोहन शर्मा लामिछानेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

छिमेकी जिल्ला पर्साको वीरगजंमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएको र त्यसको प्रभाव बारा जिल्लाका विभिन्न स्थानसंगै जीतपुरसिमरा उपमहानगरपालिकाभित्र पनि पर्न थालेपछि संक्रमितको उपचारको लागि जिल्लाभित्र सुविधा सम्पन्न आइसोलेशन कक्षको आवश्यकता महसुस हुदै आएको हो । आइसोलेशनमा आवश्यकताअनुसार बेडको संख्या बढाउँदै लगिने पौडेलले बताउनुभयो ।

उपमहानगरले अघिल्लो आर्थिक वर्षमामात्रै कारोना संक्रमण नियन्त्रण र उपचारमा एक करोड ५ लाख खर्च गरेको र यस वर्षसमेत आवश्यकताअनुसार खर्च हुने नगर प्रमुख पौडेलले बताउनुभयो ।

पथलैया–वीरगज औद्योगिक करिडोरमा संचालन भइरहेका उद्योगमा कार्यरत मजदुरसँगै स्थानीयमासमेत कोरोनाको देखिन थालेपछि बारामा अघिल्लो साताबाट लागू भएको निषेधाज्ञा हाल पनि जारी छ । बारामा हालसम्म संक्रमण देखिएका २ सय ३२ मध्ये करिब दुई सय जना निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here