अनिल तिवारी
सिमरा, १८ साउन– बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले कोरोना संक्रमण जाँच गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले पिसआिर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।
नगरमा कोरोना संंक्रमण बढ्न सक्ने ठहर गर्देै बैठकले मेसिनसहित एम्बुलेन्स खरिद, आइसोलेशन वार्ड स्थापना र स्वाब संकलनको दायरा बढाउने निर्णय गरेको नगर उपप्रमुख सरस्वतीदेवी चौधरीले जानकारी दिनुभयो ।
पछिलो समय उपमहानगरपालिकाअन्तरगत रहेका स्वास्थ्य शाखाका एक कर्मचारी सहित अन्य तीन जनामा कोरोना संक्रमण देखापरेपछि चेकजाँच र संंक्रमण नियन्त्रणको लागि पिसिआर मेसिन खरिदलगायत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । जीतपुरसिमरासंग सिमा जोडिएको पर्सामा पनि कोरोना सक्रमितको संख्या बढ्दै गएपछि स्थानीय त्रसित छन ।
उपमहानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि हाल ३ करोड बजेट छुट्याएको छ । त्यसैगरी पालिकाअन्तरगत रहेका उद्योगलाई यसअघि नै कर्ममचारीको उचित व्यस्थापन गरेरमात्र सचालन गर्न दिइएको निर्देशन पालन नभएको भन्दै कार्यपालिका बैठकले अनुगमन गरेर मापदण्ड विपरित चलेको पाइए त्यस्ता उद्योगलाई संक्रमण नियन्त्रण ऐन बमोजिम कानुनी कारवाहीको लागि सम्बन्धित निकायसंग पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
त्यसैगरी बैठकले समुदायका कोरोना फैलन नदिन समाजिक दुरी कायम गर्न र सुरक्षाका अन्य उपाय अवलम्बन गर्न सबै वडा कार्यालयसंगको सहकार्यमा कोरोना संक्रमण नियन्त्रणसम्बन्धि चेतनामुलक सामाग्री प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।