वीरगंज, १७ साउन– कोरोना महामारीको उच्च बढेको भन्दै पर्साको पर्सागढी नगरपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिका बन्द हुने जानकारी दिनुभएको हो । महामारीको उच्च जोखिम बढेपछि नगरपालिकाबाट प्रदान हुने अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको नगर प्रमुख लोक नारायण यादवले बताउनुभयो ।

पर्सागढीको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ५ जना स्वास्थ्यकर्मी र एक जना स्थानीयमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगंजको कोरोना अस्पताल भरिएपछि तीन जना संक्रमितलाई वगहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । पर्सागढीका ५ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

पर्सागढीका विभिन्न स्वास्थय संस्थाका ५ जना स्वास्थ्यकर्मी र १ जना स्थानीयमा कोरोना संक्रमण पाइएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको पीसीआर परीक्षण गराउने तयारी नगरपालिकाले गरिरहेको छ । पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको खण्डमा पर्सागढीले तत्कालका लागि होटल कुमु प्यालेसमा आइसोलेटेड गर्ने भएको छ । त्यसका लागि पर्सागढी नगरपालिका र होटलबीच सम्झौता भइसकेको छ । व्यवस्थित आइसोलेसन बनाउनका लागि पनि नगरपालिकाले तयारी थालेको नगरप्रमुख यादवले बताउनुभयो । नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र ४ वटा स्वास्थ्य चौकी छन् ।
यसैबीच पर्सामा फेरि ४६ जना नयाँ संक्रमित थपिएका छन ्। संक्रमित मध्ये १३ जना आफै शुल्क तिरी परिक्षण गराउने परेका छन ्। उनीहरु स्थानीय विभिन्न औषधी उद्योगका श्रमिक पनि रहेको नारायणी अस्पतालले जनाएको छ । बिहीबार राति थपिएका संक्रमितहरु पहिले संक्रमित भएका व्यक्तिको कन्ट्याक ट्रेसिङ्गबाट स्वाब संकलन गरिएका, आफै शुल्क तिरेर परीक्षण गराउन आएका र स्वास्थ्यकर्मीसहित भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताउनुभयो । संक्रमितहरुलाई राख्ने अस्पतालको भने अभाव भइरहेको उहाँको भनाइ छ ।

प्रतेक दिन कोरोनाका संक्रमित बढ्ने र मृत्यु हुने क्रम चलिरहेको पर्सामा कोभिड अस्पतालमा बिरामी नअटेपछि १ सय भन्दा बढीलाई होम आइसोलेशनमा नै छोडिएको छ ।

५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको छ । तर पर्सामा संक्रमित भएर निको हुन बाँकी संक्रमितको संख्या १ सय ८४ छ । यो संख्या मध्ये १५⁄२० जना सेमी आइसोलेशन बनाएको सिद्धार्थ मा.वि.मा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जनकारी दिनुभयो ।

यो बाहेकका अन्य सबै संक्रमित आ–आफ्नो घरमा नै आइसोलेशनमा राखिएको छ । संक्रमित भएका व्यक्ति राखिएका घरमा बाहिर सूचना टाँस गर्न थालिएको र बिहान र बेलुका स्वास्थ्यकर्मी पुगेर निगरानी गरिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले बताउनुभयो ।

Leave a Reply