वीरगंज, १६ साउन– कोरोना संक्रमणबाट वीरगजमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भारत घर भइ वीरगज–११ श्रीपुर बस्ने उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । मेसु उपाध्यायकाअनुसार उनी मुटुको रोगी पनि थिए । कोभिड संक्रमणपछि अवस्था गम्भिर बनेको उहाँले बताउनुभयो ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ । बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

यो सँगै पर्सामा साउन महिनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि बाराका २, रौतहटका १ र १ जना बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply