कलैया, १७ साउन– जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार रोग संक्रमण नियन्त्रण गरेर सम्भावित जोखिम न्युनीकरण गर्न निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । शुक्रबार जारी भएको सुचनामा छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामासमेत संक्रमितको संख्या दैनिक बढ्दै गएकोलेले आम नागरिकको जीवनरक्षाका लागि आदेश जारी गर्नु परेको उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन सर्वसाधारणलाई प्रतिबन्ध लगाएको छ । प्रजिअ पण्डितको हस्ताक्षरमा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ ।’

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने र सवारी साधनसमेत बन्द गर्ने निर्णय भएको छ । निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु (विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवतजावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले औषधि पसल २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखि मात्र बिक्री गर्न पाउने निर्णय गरेको छ । निषेधाज्ञापछि छिमेकी राष्ट्र भारतसंग सिमा जोडिएका सबै नाका बन्द भएको छ भने व्यवसायीले आफना कामदार कर्मचारीलाई कारखानाभित्र होस्टल र क्वाटरमा राखी सुरक्षा मापदण्ड कायम गरेरमात्र उद्योग संचालन गर्न पाउने छन ।

मनहर्वा, १७ साउन– यसैबीच कोरोना भाइरस संक्रमण समुदाय स्तरमै देखिएको भन्दै जितपुरसिमरा उपमहानगर स्तरीय सार्वजनिक सरोकार समितिले निषेधाज्ञा जारी गरी पिसिआर परीक्षणको दायरा बढाउन माग गरेको छ । सरोकार समितिका अध्यक्ष मनोज पौडेलको अध्यक्षतामा शुक्रबार सिमरामा बसेको बैठकले संक्रमणको अवस्था भयावह तर्फअघि बढेको संकेत गर्दै सरकारसँग निषेधाज्ञाको माग गरेको हो ।

लकडाउ खुलेको भन्दै स्थानीय उद्योगहरुले भारतबाट कामदार भित्र्याउन थालेपछि यस क्षेत्रमा कोरोनाको जोखिम बढेकाले निषेधाज्ञा आदेश जारी गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
सिमरा–वीरगंज औद्योगिक कोरिडोरमा कोरोना परीक्षणबीनानै भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन हुन थालेको छ । छिमेकी जिल्ला पर्सामा निषेधाज्ञा जारी भएको अवस्थामासमेत संक्रमणले दिनहुँ मानिसको मृत्यु भइहेको छ । भारतीय मजदुरसँगै पर्सा जिल्लाका स्थानीयसमेत बारा जिल्लाको सिमरालगायत जिल्लाका विभिन्न बजार, बैंक तथा वित्तिय संस्थाहरुमा काम गरिरहेका छन ।

‘यस्तोे अवस्थामा संक्रमण फैलन सक्ने सम्भावना अधिक हुन्छ, अध्यक्ष पौडेलले भन्नुभयो, जिल्लामा निषेधाज्ञा जारी गरी एकघर एक पिसिआर परीक्षणको व्यवस्था हुनुपर्छ ।’ उहाँले निषेधाज्ञा आदेश तत्काल कार्यान्वयन गर्न नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय तहसँग जोडदार माग गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

त्यसैगरी बारा जिल्लामा आइसियु र भेन्टिलेटरसहितको अस्पताल नभएको अवस्थामा सिमरा वा पथलैयामा आइसियुसहितको सुविधा सम्पन्न कोरोना अस्पताल तत्काल निर्माण गरी संक्रमितको उपचार व्यवस्था मिलाउनसमेत समितिले माग गरेको छ । बैठकमा छबिलाल शर्मा, कर्ण थापा, नारायण घिमिरे, राजुराज गिरी, रमेस सापकोटा, पेसल मुल्मी, बिदुर खडकालगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here