बिशेषगरी कोभिड—१९ को महामारीका कारण विश्वकै अर्थव्यवस्थामा प्रतिकूल असर पर्ने निश्चित छ। महामारीले कहिलेसम्म उग्ररूप लिन्छ र यसको समाधान कसरी हुन्छ भन्ने ठोस आधार तय भइसकेको छैन। विश्वकै शक्तिशाली अर्थतन्त्र भएका मुलुकलाई समेत गाँजेको यो महामारीले नेपालको अर्थतन्त्रलाई शिथिल पार्नेमा शंका छैन। महामारी बढ्दै जाँदा अबका दिनमा विश्वको आयात÷निर्यात नै ठप्प हुने जोखिम पनि त्यत्तिाकै छ।
नेपालजस्तो तन्नम अर्थतन्त्र भएको मुलुकलाई यसले अझ बढी गाँज्नेछ।विशेष गरेर विप्रेषण, पर्यटन र सेवा क्षेत्रमा अडेको हाम्रो अर्थतन्त्र कोरोना संक्रमणले जटिल तुल्याउँदैछ। विदेशमा काम गर्न गएका युवा फर्कंदैछन्। कुल गार्हस्थ्य उत्पादनमा झन्डै २७ प्रतिशत अंश रहेको विप्रेषण आप्रवाहमा कमी आउनेबित्तिकै मुलुकको अर्थतन्त्रको हालत के होला ? दैनिक जीवनयापनका लागि नभई नहुने खाद्यान्नसमेत हामी डलर तिरेर किन्दै आएका छौं।
दाल, चामलजस्ता स्वदेशमै उत्पादन गर्न सकिने अनाजसमेत आयात हुँदै आएको छ। हरेक वर्ष कृषिजन्य वस्तुको आयात वृद्धि भइरहेको छ। गत वर्ष झन्डै एक खर्ब ६० अर्ब रुपैयाँको कृषिजन्य वस्तु आयातलाई विप्रेषणले धानेको थियो।अब विप्रेषण आप्रवाहमा गिरावट मात्र होइन, उल्लेखनीय रूपमा कमी हुने देखिइसकेको छ। चालू वर्षको आठ महिनाको अवधिमा २० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको सरकारी आँकडाले देखाएको छ। कोभिडका कारण भारतमा पनि उत्पादित फसल किसानले भित्र्याउन पाएका छैनन्। कथंकदाचित् भारतले आफ्नो खाद्य सुरक्षाका लागि निर्यातमा रोक लगाइदियो भने नेपालले के गर्ने ?
हिजो विप्रेषणमाथिको बढ्दो निर्भरतालाई सरकारले हासिल गरेको उपलब्धिका रूपमा मापन गरियो। पर्यटन हाम्रो समृद्धिको आधार भनिएको थियो। अब यी दुवै क्षेत्रमा भएको तहसनहसको विकल्प के ? यो अहिलेको अहं सवाल हो।अब बारा र पर्सामा पनि कृषिलाई प्राथमिकिररण गर्न अवश्यक छ र कुनैपनि जग्गा बाँझो राख्न नहुने गरी नीति बनाउन आवश्यक छ ।