पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको मौवादेवी युवा क्लबको २६ औं बार्षिक साधारण सभाको बन्दसत्रमा विवाद भएपछि स्थगित भएको छ । नयाँ कार्यसमिति समेत चयन गर्ने गरी शनिबारका लागि साधारणसभा बोर्लाएको थियो ।

स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिशरमा बसेको सभामा पेस भएको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नआएपछि विवाद भएको थियो । चालु आर्थिक वर्षको हिसाव किताव टालटुले ढंगले पेस गरिएको भन्दै सहभागीहरुले विवाद गर्दा कार्यक्रम स्थगन भएको कार्यक्रममा सहभागी विश्व कार्कीले बताउनुभयो ।

अधिवेशनको उद्धाटन सत्र प्रकृया सम्मत रुपमा सम्पन्न गरी बन्द सत्रमा आर्थिक प्रतिवेदन पेस गरिएको थियो । कतिपय साथीहरुले प्रतिवेदनउपर चित्त नबुझेको भन्दै विवाद गरेपछि अब लेखा परीक्षण सम्पन्न गरेर आगामी श्रावण १४ गते पुनः बस्ने गरी हाललाई अधिवेशनको बन्द सत्र स्थगन गरिएको क्लबका सचिव जगदिप कोइरालाले बताउनुभयो ।

यसअघि उद्धाटन सत्रमा क्लबको स्थापना र संचालनमा विशेष योगदान गर्ने पूर्वसंचालकहरु नवनिर्वाचित एवं पूर्वजनप्रतिनिधि र स्थानीय समाजसेवीलाई सम्मान गरिएको थियो । क्लबका पूर्व अध्यक्ष शिव प्रसाद न्यौपान, सरोज बिडारी, राजुकुमार कार्की, वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, पूर्ववडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, स्थानीय कृष्णबहादुर पुलामी लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरिएको क्लबका सचिव कोइरालाले जानकारी दिनुभयो । कार्यक्रम क्लबका अध्यक्ष दिपेश दाहालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply