रौतहट, १६ साउन– गरुडास्थित मुलुक कै प्रतिष्ठित श्री राम सुगर मिल्स बन्द हुने भएपछि मिल बन्द गर्ने निर्णय फिर्ता गराउन किसानहरुले रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई बिहिबार ज्ञापन पत्र बुझाइएका छन ।
रौतहट उखु उत्पादक संघको अगुवाइमा उखु किसानहरुले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई भेटेर मिल बन्द गर्ने संचालक समितिको निर्णय फिर्ता गर्ने पहलको लागि अनुरोध गरेका हुन । किसानहरुसंग प्रत्यक्ष सरोकार राख्ने चिनि मिल तुरुन्त सञ्चालनको प्रक्रियामा ल्याउनु पर्नेमा किसानहरुले जोड दिएका छन ।
रौतहटलगायत प्रदेस २ का हजारौं किसानको आयआर्जनसंग सम्बन्धित र जिल्लाकै प्रतिष्ठित उद्योगको रुपमा रहेको उद्योग कुनै पनि हालतमा बन्द गर्न नहुने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवको बताउनु भएको छ ।
किसानले उत्पादन गरेको कच्चा पदार्थको प्रशोधन गरी मुलुकका विभिन्न स्थानमा चिनी बिक्रि वितरण गर्दै आइरहेको उद्योग बन्द गर्ने निर्णय हुदासम्म कुनै निकायको ध्यान जान नसकेकोमा स्थानीय समाजसेवी बृजकिशोर यादवले आरोप लगाउनु भएको छ । उहाँले स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले पनि उद्योग बन्द हुन नदिनकोलागि पहल गर्नु पर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पनि चिनि मिललाई बन्द गराउने भन्दा पनि व्यवस्थित बनाउनेतर्फ आफु लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । किसानहरुको बक्यौता रकम भुक्तानी गर्न बाकी रहेको भएतापनि मिल भने कुनै पनि अवस्थामा बन्द गर्नु नहुने किसानहरुले बताउदै आएका छन ।
घाटामा गएको भन्दै श्री राम सुगर मिल्स सञ्चालकहरुको बैठकले साउन ११ गतेदेखि कारखाना सदाको लागि बन्द गर्ने निर्णय गरेको थियो ।