रौतहट –  उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै रौतहटका विभिन्न बजार तथा चोकमा सञ्चालित मासु पसलहरूको संयुक्त अनुगमन टोलीले छड्के अनुगमन सुरु गरेको छ । शिवनगर चोकसहित जिल्लाका मुख्य बजारमा अनुगमन टोलीले मासु पसलको स्थलगत निरीक्षण र अनुगमन थालेको हो ।

अनुगमनका क्रममा बिक्री भइरहेको मासुको गुणस्तर, पसलको सरसफाइ, मासु भण्डारणको अवस्था तथा नापतौल लगायतका विषयमा जाँच गरिएको जनाइएको छ । त्यस्तै, पशु वध तथा मासु बिक्री–वितरणका क्रममा पालना गर्नुपर्ने स्वास्थ्य तथा स्वच्छतासम्बन्धी मापदण्डको अवस्थासमेत निरीक्षण भइरहेको छ ।

मापदण्डविपरीत वा अस्वस्थकर मासुको बिक्री–वितरण रोक्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा व्यवसायीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु मात्र बिक्री गर्न सचेत गराइएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले मासु पसलमा नियमित अनुगमनसँगै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गर्नुपर्ने स्थानीय उपभोक्ताहरूको माग छ ।
साथै, मासु व्यवसायीले पनि सरसफाइ र खाद्य सुरक्षाका मापदण्डलाई नियमित रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको छ ।

Leave a Reply