रौतहट, १३ साउन– रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड अब सधैकोलागि बन्द हुने भएको छ । जिल्लाको पहिलो तथा सबैभन्दा ठुलो चिनी उद्योग व्यवस्थापन पक्षले आइतबारबाट सधैको लागि बन्द गरेको हो ।
मिल्सको लेटरप्याडमा ३ पृष्ठको सूचना निकालेर व्यवस्थापनले मिल बन्द भएको जानाकरी दिएको छ । मिल बन्द हुँदा किसानले पाउन बाँकी करोडौं रुपैयाँ बक्यौता रकमको हिसाब थप गडबड हुने संकेत देखिएको छ । उता, उद्योगमा कार्यरत ३ सय २५ जना कर्मचारी पनि बेरोजगार हुने भएका छन् ।
स्थापना भएको एक दशकसम्म नाफामा रहेको कम्पनी पछिलो समय राम्रो व्यवस्थापनको अभावमा घाटामा सञ्चालन भैरहेकोे थियो । उद्योगलाई जेनतेन टिकाइ राख्न कम्पनी सञ्चालकहरुले करोडौं रुपैया लगानी गरेपनि कम्पनीको बार्षिक घाटा दर पछिल्लो समय थप बढ्दै गएको थियो ।
एक आर्थिक वर्षमा करोडौं घाटा हुन थालेपछि उद्योगलाई स्थायी रुपमा बन्द गर्नुपर्ने बाध्यता भएको कम्पनी व्यवस्थापन पक्षले जारी गरेको सूचनामा उल्लेख छ । २०७५÷०७६ सम्ममा उक्त कम्पनीको घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७६ पुगेपछि मिल्स सञ्चालन गर्न निकै अप्ठ्यारो स्थिति सृजना भएको पनि उल्लेख छ ।
सूचनामा कम्पनीको आर्थिक अवस्था अत्यन्तै जर्जर भएको, पुँजीको अभाव भएपछि व्यवस्थापन पक्षबाट विगत ४ महिनादेखि उद्योगमा कार्यरत श्रमिक कर्मचारीहरुको पारिश्रमिक भुक्तानी गर्ने अवस्थासमेत नरहेको उल्लेख छ । कम्पनी सञ्चालक समितिको गत साउन ८ गते बसेको बैठकले साउन १० गतेदेखि बन्द गर्ने सहमति गरेको थियो ।
कारखानाले उखु किसानको वक्यौता रकम र कर्मचारीको पारिश्रमिक कम्पनीको चल–अचल सम्पत्ति बिक्री भएपछि प्राथमिकताको आधारमा भुक्तानी गरिने जनाइएको छ । सम्पति बिक्रको लागि व्यवस्थापन पक्षको नेपाल सरकारसँग छलफल जारी रहेको र यस सम्बन्धि काम कारवाही अघि बढाइएको मिल्स व्यवस्थापन पक्षकोतर्फबाट ऋतेष गोल्छा र विशाल अग्रवालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यसैबीच उखु उत्पादक संघ रौतहटले बिना जानकारी उद्योग बन्दको सूचनाप्रति आपत्ति जनाएको छ । संघका कोषाध्यक्ष मनोजकुमार शहनीले किसानले बेचेको उँखुुको सम्पुुर्ण रकम भुुक्तानी गरिसकेपछि मात्र मिल बन्द गर्नुुपर्ने माग गर्नुभएको छ ।